काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुलको पुनःडिजाइन (रिडिजाइन) स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना र उजुरीपछि आयोगले विशेष निगरानी गरेको थियो।
बुधबार अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट खड्कालाई सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।
