• Monday 5th of October 2026

सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन सम्पन्न भएको करिब एक महिनापछि बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन प्रक्रिया अघि बढाउने भएको छ। बुधबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकले यस विषयमा निर्णय गर्ने तयारी गरेको हो।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकको कार्यसूचीमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधि निर्माण तथा संशोधन, संगठन व्यवस्थापन, केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयन, आगामी कार्यक्रम र समसामयिक विषय समावेश छन्।

रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार भए पनि बुधबारको बैठकबाट सबै पदमा मनोनयन नहुने संकेत गरिएको छ। एकता प्रक्रियामा सहभागी सबै पक्षलाई समेट्न थप गृहकार्य आवश्यक रहेकाले केही सदस्य र पदाधिकारी मात्र मनोनयन हुने सम्भावना रहेको महामन्त्री आचार्यले बताएका छन्।

संशोधित विधानअनुसार रास्वपामा १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट सभापतिसहित सात पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने बाँकी ५१ सदस्य मनोनयन गर्न बाँकी छ।

हाल एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष पद रिक्त छन्। विधानअनुसार पदाधिकारी बन्न पहिले केन्द्रीय सदस्य हुनुपर्ने भएकाले बैठकले प्रारम्भमा केन्द्रीय सदस्य मनोनयन गर्ने तयारी गरेको छ।

पार्टी स्रोतका अनुसार एकता प्रक्रियामा रहेका विभिन्न समूहबीच प्रतिनिधित्वको विषयमा छलफल जारी छ। भूगोल, समावेशिता र कार्यक्षमतालाई आधार बनाएर केन्द्रीय समितिलाई पूर्णता दिने तयारी भइरहेको जनाइएको छ।

यसैबीच उपसभापतिमा सुधन गुरुङको सम्भावना बलियो रहेको चर्चा छ। महामन्त्री पदका लागि भूपदेव शाह र सुदीप ढकालबीच प्रतिस्पर्धा रहेको बताइएको छ भने प्रवक्तामा प्रमोद न्यौपानेको सम्भावना बलियो देखिएको छ। निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले भने सोही पदमा पुनः नदोहोरिने इच्छा व्यक्त गरेकी छन्।

रास्वपाले मनोनयन प्रक्रिया टुंग्याउँदै चाँडै केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖