• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्यमा भारी गिरावट आउन सक्ने


  • धनकुटा खबर
  • .

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा थप गिरावट आउन सक्ने संकेत देखिएको छ।

वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार सुनको मूल्य प्रतिऔंस ३,८५७ अमेरिकी डलरभन्दा तल झरेमा अर्को प्रमुख समर्थन बिन्दु ३,५०० डलरसम्म पुग्न सक्ने सम्भावना छ।

यदि मूल्य ३,५०० डलरको स्तरमा पुगेमा यो जनवरी महिनामा कायम भएको उच्च मूल्यबाट करिब ३७ प्रतिशतको गिरावट हुनेछ। अघिल्ला प्रमुख मन्दी अवधिहरूसँग मेल खाने भएकाले यस स्तरलाई महत्त्वपूर्ण आधार बिन्दुका रूपमा हेरिएको काउन्सिलले जनाएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस करिब ४,०६३.८० डलरमा कारोबार भइरहेको छ। लन्डन बुलियन मार्केट एसोसिएसन (एलबीएमए) को गोल्ड प्राइस पीएम सूचक गत साता १ प्रतिशतले घटेर प्रतिऔँस ४,०२७ डलरमा पुगेको छ।

यससँगै चालु वर्षको सुरुदेखि सुनको मूल्यमा ७.८ प्रतिशतको गिरावट आइसकेको छ। अमेरिकी फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेपछि सिर्जना भएको दबाब, अमेरिका-इरान तनाव र त्यसका कारण तेलको मूल्य एवम् मुद्रास्फीतिबारे लगानीकर्तामा देखिएको चिन्ताले सुनको बजारलाई प्रभावित बनाएको प्रतिवेदनमा उल्लेख छ।

बजारको नयाँ मूल्याङ्कनसँगै गोल्ड ईटीएफमा हुने लगानी प्रवाह सुस्त बनेको छ भने कमेक्समा सुनसम्बन्धी ‘नेट लङ पोजिसन’ पनि घटेको छ।

काउन्सिलका अनुसार पछिल्लो एक महिनादेखि सुनको मूल्य सीमित दायराभित्र उतारचढाव भइरहे पनि मार्चको सुरुदेखिको ओरालो प्रवृत्तिभन्दा माथि जान सकेको छैन। प्रतिऔँस ३,९४३ डलरभन्दा तल झरेमा मूल्य थप घट्ने संकेत देखिने र त्यसपछि ३,८५७ देखि ३,८८७ डलरको दायरा महत्त्वपूर्ण प्राविधिक समर्थन क्षेत्र बन्ने विश्लेषण गरिएको छ।

अर्कातर्फ, जापानी येनको मजबुतीले भने सुनलाई केही राहत दिन सक्ने अनुमान छ। अमेरिका र जापानले संयुक्त रूपमा मुद्रा बजारमा हस्तक्षेप गरेपछि येन बलियो बनेको छ।

यदि बलियो येन र कमजोर अमेरिकी डलरको प्रवृत्ति कायम रहेमा त्यसले सुनको मूल्यलाई केही टेवा पुर्‍याउन सक्नेछ।

आगामी दिनमा अमेरिकी फेडरल रिजर्भको मौद्रिक नीति, जुलाई महिनाको उत्पादन तथा सेवा क्षेत्रका सूचकांक र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ वार्ताको घोषणा गरेपछिको कूटनीतिक वातावरणले सुनको मूल्य निर्धारणमा मुख्य भूमिका खेल्ने काउन्सिलले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖