• Sunday 29th of November 2026

सशस्त्र प्रहरीमाथि आक्रमण, स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर


  • धनकुटा खबर
  • .

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५, गेरमा तस्करी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा तस्कर समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेको हो।

सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको सात सदस्यीय टोलीमाथि करिब १०० देखि १५० जनाको समूहले आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ।

घटनामा सशस्त्र प्रहरीका चार जना कर्मचारी सामान्य घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ।

गस्ती टोलीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको २० देखि २५ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको थियो। तर ठूलो सङ्ख्यामा जम्मा भएको समूहले ढुङ्गामुढा गर्दै नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लगेपछि अवस्था तनावपूर्ण बनेको थियो। त्यसक्रममा प्रहरीले दुई बोरा खरबुजाको बीउ मात्र नियन्त्रणमा लिन सफल भएको जनाएको छ।

घटनालगत्तै थप सुरक्षा बलका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट अतिरिक्त टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो समय तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖