काठमाडौँ । थाइल्यान्डको राजधानी बैंकक नजिकै रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटनापछि गोली चलाउने विद्यार्थीले आत्महत्या गरेको अधिकारीहरूले जनाएका छन्।
घटना बैंककको बाहिरी क्षेत्रमा पर्ने नोन्थाबुरी प्रान्तको बाङ क्रुई जिल्लास्थित देब्सिरिन नोन्थाबुरी विद्यालयमा भएको हो।
नोन्थाबुरी प्रान्तीय प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नेल डेच्रापी कोङ्दीका अनुसार घटनामा एक शिक्षकको ज्यान गएको छ। घाइते हुनेमा एक शिक्षक र तीन विद्यार्थी रहेका छन्। गोली चलाउने व्यक्ति पनि सोही विद्यालयका विद्यार्थी रहेको प्रहरीले पुष्टि गरेको छ।
घटनापछि आपत्कालीन उद्धार टोली तत्काल विद्यालय पुगेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा विद्यार्थीहरू विद्यालयबाट बाहिर निस्किरहेको तथा विद्यालय परिसरबाहिर एम्बुलेन्स र उद्धारकर्मी परिचालन गरिएको देखिएको छ। केही तस्बिरमा घाइतेहरूलाई स्ट्रेचरमार्फत एम्बुलेन्समा लैजाँदै र स्वास्थ्यकर्मीले उपचार गरिरहेको दृश्य पनि देखिन्छ।
जिल्ला प्रशासनका अनुसार सन् २०२५ को शैक्षिक वर्षमा उक्त विद्यालयमा करिब ३,१०० विद्यार्थी र १४७ शिक्षक कार्यरत थिए।
थाइल्यान्डमा पछिल्लो समय विद्यालयमा हुने गोलीकाण्डका घटनाले चिन्ता बढाएको छ। यसअघि फेब्रुअरीमा दक्षिणी थाइल्यान्डको हात याई जिल्लास्थित एक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा एक शिक्षकको मृत्यु भएको थियो भने एक विद्यार्थी घाइते भएका थिए।
प्रहरीले घटनाको कारण र विद्यार्थीले हतियार कसरी प्राप्त गर्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ। हालसम्म घटनाको उद्देश्यबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
