काठमाडाैँ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित इंगलउड सहरमा बस्दै आएका माइकल रीस र लिया फेरारिनीले एउटा अनौठो घटना सामना गरे ।
सन् १ जनवरी २०२४ को राति करिब ८ बजे उनीहरूको घरको छतमा बरफको एउटा ठुलो टुक्रा खस्यो । उक्त बरफको टुक्रा जेटब्लु एयरवेजको विमानबाट खसेको पुष्टि भयो ।
न्यूयोर्कबाट लस एन्जलस जाँदै गरेको सो विमानबाट खसेको बरफको टुक्राले उनीहरूको घरमा क्षति भएको थियो । त्यसपछि उनीहरूले एयरलाइन्सविरुद्ध मुद्दा दायर गरे ।
अदालतमा मुद्दा पुगे पनि आपसी सम्झौतामा विवाद सुल्झाइएको बताइएको छ । एयरलाइन्सले पीडित परिवारलाई क्षतिपूर्ति दिने गरी सम्झौता भएको भनिए पनि सम्झौताको रकम भने खुलाइएको छैन ।
यद्यपि अदालतमा पेस गरिएको दस्तावेज अनुसार सो दम्पतीले घरको छत मर्मतका लागि ११ हजार डलर, मानसिक तनाबको उपचारका लागि ५ हजार ६०० डलर र मे २०२४ देखि फेब्रुअरी २०२५ सम्म काम गर्न असमर्थ हुँदा करिब ८४ हजार डलर आय गुमेको दाबी पीडित पक्षले पेस गरेको थियो ।
क्यालिफोर्नियाको एक अदालतले यस मुद्दामा भएको सम्झौतालाई बुधबार मान्यता दिएको छ । जेटब्लु एयरलाइन्सका कानुन व्यवसायीले पनि सम्झौता दुवै पक्षका लागि उचित रहेको प्रतिक्रिया दिएका छन् ।
संघीय उड्डयन प्राधिकरणका अनुसार अनुसन्धानका क्रममा उक्त विमानमा जुलाई २०२३ मा पानीसँग सम्बन्धित प्राविधिक समस्या रहेको तथ्य पत्ता लागेको थियो ।
