काठमाडौँ । इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल भर्ना गरिएको इजरायली सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
इजरायली सञ्चारमाध्यम च्यानल १४ (सी–१४) ले इरानभित्रका स्रोतलाई उद्धृत गर्दै खामेनीको अवस्था ‘अत्यन्त गम्भीर’ रहेको खबर सार्वजनिक गरेको छ। सोही दाबीलाई इरानवायर तथा राष्ट्रपति मसूद पेजेश्कियानको प्रशासननिकट स्रोतले समेत पुष्टि गरेको च्यानल १४ को रिपोर्टमा उल्लेख छ।
‘जेरुसेलम पोस्ट’ले उद्धृत गरेको एक स्रोतले खामेनीको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनको स्वास्थ्यसँग सम्बन्धित गम्भीर खबर आउन सक्ने दाबी गरेको छ। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
खामेनीले सन् २०२६ फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिता अली खामेनीको मृत्यु भएपछि सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका थिए।
पदभार ग्रहण गरेयता उनी सार्वजनिक कार्यक्रममा निकै कम देखिएका छन्। उनले लिखित वक्तव्यमार्फत प्रशासनिक तथा राजनीतिक गतिविधिमा निर्देशन दिँदै आएको बताइएको छ।
इरान र अमेरिकाबीचको द्वन्द्वका क्रममा उनको सार्वजनिक उपस्थितिमा आएको कमीले उनको स्वास्थ्य अवस्था र नेतृत्व क्षमताबारे विभिन्न अड्कलबाजी हुँदै आएका छन्। केही रिपोर्टमा उनी सैन्य कारबाहीको सुरुवाती चरणमै घाइते भएको र त्यसपछि सार्वजनिक गतिविधिबाट टाढा रहेको दाबी गरिएको छ।
यसअघि पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खामेनीको अवस्थाबारे विभिन्न दाबी सार्वजनिक गरेका थिए। जुलाईमा साउदी सञ्चारमाध्यम अल–हदाथले एक इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै उनी इरानमा नरहेको दाबी गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फक्स न्युजसँगको अन्तर्वार्तामा इरानको शीर्ष सैन्य नेतृत्वमा ठूलो क्षति पुगेको र खामेनीको स्वास्थ्य अवस्था निकै कमजोर रहेको दाबी गरेका थिए।
तर इरानी अधिकारीहरूले भने उनका चोटहरू गम्भीर नरहेको र उनी देशका रणनीतिक तथा प्रशासनिक विषयमा निरन्तर निर्देशन दिइरहेको बताउँदै आएका छन्। इरानी स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले यसअघि उनका प्रारम्भिक चोटहरू सतही रहेको दाबी गरेका थिए।
यसबीच अस्पताल भर्ना भएको भनिएको पछिल्लो खबरको स्वतन्त्र पुष्टि नभएकाले खामेनीको वास्तविक स्वास्थ्य अवस्थाबारे यकिन विवरण सार्वजनिक हुन बाँकी छ।
