• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विमानस्थलको रनवेमा दुई विमान ठोक्किनबाट मुस्किलले जोगिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । अस्ट्रेलियाको सिड्नी विमानस्थलमा दुई यात्रुवाहक विमान आपसमा ठोक्किनबाट झन्डै जोगिएका छन्। घटनामा एक जना चालक दलका सदस्य घाइते भएका छन् भने घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

आइतबार सिड्नी विमानस्थलमा जेटस्टार र कतार एयरवेजका विमान नजिकिँदा सम्भावित दुर्घटना टरेको हो। अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरो (एटीएसबी)का अनुसार जेटस्टारको ए३२० विमान क्विन्सल्यान्डको गोल्ड कोस्टतर्फ उडानका लागि ट्याक्सी गरिरहेको थियो।

सोही क्रममा अर्को क्रसिङ ट्याक्सीवेमा विमान तान्ने गाडीमार्फत लैजाँदै गरिएको कतार एयरवेजको बोइङ ७७७ विमान जेटस्टारको विमान नजिकै देखिएको थियो। अवस्था देखिएपछि दुवै विमान तत्काल रोकिएका थिए।

अचानक रोकिँदा जेटस्टारको विमानभित्र हिँडिरहेका चालक दलका एक सदस्य लडेर घाइते भएका थिए। उनलाई घटनास्थलमै प्यारामेडिक्स टोलीले उपचार गरेको जनाइएको छ।

घटनामा कतार एयरवेजको बोइङ ७७७ विमानको अगाडिको ह्वील (नोज गियर) र विमान तान्ने गाडीबीचको कनेक्सनमा समेत क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

घटनाको कारण खोजिँदै

घटनाको अनुसन्धानका क्रममा अधिकारीहरूले दुवै विमान तथा एयर ट्राफिक कन्ट्रोलबाट आवश्यक डाटा संकलन गरिरहेका छन्। साथै विमानका चालक दल र विमान तान्ने गाडीका अपरेटरसँग समेत सोधपुछ भइरहेको छ।

नियामक निकायले घटनाका बेला विमानस्थलमा रहेका प्रत्यक्षदर्शीलाई घटनासँग सम्बन्धित कुनै फोटो वा भिडियो भए उपलब्ध गराउन आग्रह गरेको छ।

अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टासको बजेट एयरलाइन्स जेटस्टारले पनि घटनाबारे छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ। कतार एयरवेजले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

घटनापछि सिड्नी विमानस्थलमा केही उडान प्रभावित भई ढिलाइ भएको एयरसर्भिसेस अस्ट्रेलियाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖