काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा दायर भएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्ने सामग्रीमा पैसा तिरेर छिटो पहुँच दिने नयाँ सेवाविरुद्ध दुई वटा सञ्चार संस्थाले बुधबार मुद्दा दायर गरेका हुन्।
द इन्टरसेप्ट र फ्रिडम अफ द प्रेस फाउन्डेसनले म्यानहट्टनको सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन् । यस मुद्दामा ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले सञ्चालन गरेको ट्रुथ एपीआई सेवा बन्द गर्न माग गरिएको छ । उक्त सेवाले ट्रम्पसहित १० वटा चर्चित ट्रुथ सोसल खाताका पोस्टमा अरूभन्दा पहिले पहुँच दिन्छ । यसको शुल्क मासिक १ लाख अमेरिकी डलरसम्म रहेको बताइएको छ ।
ट्रुथ एपीआई अगस्ट १ देखि सञ्चालनमा आएको हो । ट्रम्पले ट्रुथ सोसलमार्फत कर नीति, मध्यपूर्वका द्वन्द्वलगायत बजारमा प्रभाव पार्न सक्ने विषयमा नियमित रूपमा जानकारी सार्वजनिक गर्दै आएका छन् ।
मुद्दा दायर गर्ने संस्थाहरूले राष्ट्रपतिको पोस्टमा पैसा तिरेका निजी ग्राहकलाई मात्र छिटो पहुँच दिनु अनुचित भएको बताएका छन् । यस सेवाले अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गतको समान सूचना पहुँचसम्बन्धी अधिकारमा समस्या पार्ने दाबी उनीहरूले गरेका छन्। मुद्दामा राष्ट्रपतिले आफ्नै पोस्टबाट आर्थिक लाभ लिन सक्ने भएकाले सेवा अत्यन्तै स्वार्थपूर्ण भएको आरोप पनि लगाइएको छ ।
ह्वाइट हाउसले आधिकारिक सरकारी घोषणा केवल ट्रुथ सोसलमार्फत सार्वजनिक गर्न नपाउने व्यवस्था गर्न पनि अदालतसँग माग गरेका छन् । ट्रम्प मिडियाका प्रवक्ताले भने ट्रम्पका सूचना विभिन्न सञ्चारमाध्यम र प्लेटफर्मले पहिलेदेखि नै प्रसारण गर्दै आएको भन्दै मुद्दालाई ट्रम्पलाई रोक्ने प्रयास भनेर आलोचना गरेका छन् ।
ट्रम्प ‘ट्रम्प मिडिया एन्ड टेक्नोलोजी’ ग्रुपका सबैभन्दा ठुला सेयरधनी हुन् । रोयटर्सका अनुसार डोनाल्ड जे. ट्रम्प रिभोकेबल ट्रस्टमार्फत यस कम्पनीमा ट्रम्पको झन्डै ४१ दशमलव ३ प्रतिशत हिस्सा छ ।
यसको मूल्य करिब ९५ करोड अमेरिकी डलर रहेको बताइएको छ। ट्रुथ एपीआईले उपराष्ट्रपति जेडी भान्स, स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी जुनियर, एफबीआई निर्देशक काश पटेल र ह्वाइट हाउसका खाता पनि समेटेको छ।
