• Sunday 4th of October 2026

१८ दिनपछि पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालन


  • धनकुटा खबर
  • .

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि १८ दिनपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्।

भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। भदौ २८ गते केही हेभी सवारीसाधन सञ्चालन गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो। त्यसपछि ट्र्याकलाई थप व्यवस्थित र पूर्णता दिन निरन्तर काम गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार गरेको निर्णयअनुसार बिहीबार बिहान ६ बजेदेखि राजमार्गमा दुईतर्फी सवारी सञ्चालन गरिएको हो।

कृष्णभिर क्षेत्रमा सम्बन्धित निकायको निरन्तर प्रयासबाट नयाँ ट्र्याक निर्माण भएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याइएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।

प्रशासनले पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै सडक भासिने, पहिरो जाने तथा ढुंगामाटो खस्नेजस्ता जोखिम रहेकाले सवारी चालक र यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार बिहानैदेखि राजमार्गमा दुईतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖