• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

के खाली पेट वा राति केरा खानु ठिक हो? यस्तो छ विज्ञको भनाइ


  • धनकुटा खबर
  • .

काठमाडौँ । केरा यस्तो फल हो, जसलाई मानिसहरू दिनको फरक-फरक समयमा खान रुचाउँछन्। कसैले यसलाई बिहानको खाजामा खान्छन् भने धेरैले व्यायाम गर्नुअघि वा पछि स्न्याकका रूपमा लिने गर्छन्।

कतिपयले राति हल्का भोक लाग्दा पनि केरा खाने गर्छन्। हुन त सामाजिक सञ्जालमा यसबारे विभिन्न कुरा सुन्न पाइन्छ। तर, वैज्ञानिक दृष्टिकोणबाट हेर्दा केरा खाने कुनै एउटा ‘सही समय’ तोकिएको छैन।

तपाईं यसलाई आफ्नो खानपान, दिनचर्या र शरीरको आवश्यकताअनुसार खान सक्नुहुन्छ।

केरामा कार्बोहाइड्रेट, फाइबर, पोटासियम र भिटामिन बी-६ जस्ता धेरै पोषक तत्त्व पाइन्छन्। अमेरिकी नेसनल इन्स्टिच्युट्स अफ हेल्थका अनुसार एउटा केरामा करिब ४२२ मिलिग्राम पोटासियम र ०.४ मिलिग्राम भिटामिन बी-६ हुन्छ।

पोटासियमले शरीरमा नसा र मांसपेशीको सामान्य कामकारबाहीका साथै तरल पदार्थको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। त्यस्तै, भिटामिन बी-६ ले शरीरमा प्रोटिनको उपयोगलगायत धेरै आवश्यक प्रक्रियामा मद्दत गर्छ।

केरामा हुने कार्बोहाइड्रेटले यसलाई छिट्टै ऊर्जा दिने सजिलो स्न्याक बनाउँछ। त्यसैकारण जिम जाने मानिस र खेलाडीहरू यसलाई व्यायाम गर्नुअघि वा पछि खान रुचाउँछन्।

यद्यपि, केरा मात्र खाँदा शरीरको सम्पूर्ण पोषणसम्बन्धी आवश्यकता पूरा हुँदैन। यसलाई सन्तुलित आहारको एउटा हिस्सा मान्नु राम्रो हुन्छ।

के खाली पेटमा केरा खानु सही हो?
यदि बिहान खाली पेटमा केरा खाँदा तपाईंलाई कुनै किसिमको समस्या हुँदैन भने यसलाई बिहानको खाजामा समावेश गर्न सकिन्छ। तर, केही मानिसलाई खाली पेटमा फलफूल खाएपछि पेट फुल्ने वा भारी हुने समस्या हुन सक्छ। यस्ता मानिसले केरालाई ओट्स, ब्रेड, दही वा अन्य कुनै खानेकुरासँग खान सक्छन्।

केरा र दुध पनि एक साधारण सम्मिश्रण हो। केराबाट कार्बोहाइड्रेट पाइन्छ भने दूधले प्रोटिन र अन्य पोषक तत्त्व प्रदान गर्छ। यदि कुनै व्यक्तिलाई दूध सजिलै पच्छ भने, केरा र दूधको सेक वा स्मुदी सामान्य खानपानको हिस्सा बन्न सक्छ।

अर्कोतर्फ, ल्याक्टोज पचाउन समस्या हुने मानिसलाई दूधका कारण ग्यास बढ्ने वा पेट फुल्ने जस्ता समस्या हुन सक्छन्। यसलाई केरासँग मात्र जोडेर हेर्नु उचित हुँदैन।

के राति केरा खाँदा बेफाइदा हुन्छ?
राति केरा खानु आफैँमा हानीकारक मानिँदैन। यदि यो खाएपछि तपाईंलाई पेट भारी भएको वा असहज महसुस हुँदैन भने राति पनि खान सक्नुहुन्छ। तर, राति केरा खाँदा पाचनसम्बन्धी समस्या हुन्छ भने यसलाई दिनको अन्य कुनै समयमा खानु उत्तम हुन्छ।

मधुमेह र मिर्गौलाका बिरामीले ध्यान दिनुपर्ने कुरा
मधुमेह भएका मानिसले केराको मात्रामा ध्यान दिनुपर्छ। यसमा प्राकृतिक चिनी र कार्बोहाइड्रेट हुने भएकाले यसले रगतमा चिनीको मात्रा (ब्लड सुगर) लाई प्रभाव पार्न सक्छ।

त्यस्तै, मिर्गौलाको रोग लाग्दा शरीरलाई अतिरिक्त पोटासियम बाहिर निकाल्न गाह्रो हुन सक्छ। यस्तो अवस्थामा केरा कति खाने भन्ने कुरा व्यक्तिको स्वास्थ्यस्थितिमा निर्भर गर्छ। त्यसैले मिर्गौलाका बिरामीले डाक्टर वा डाइटिसियनको सल्लाहअनुसार मात्र यसलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ।

समग्रमा भन्नुपर्दा, केरा एक पौष्टिक र सजिलै पाइने फल हो। तर, कुनै एउटा फललाई मात्र सम्पूर्ण आहारको विकल्प मान्न सकिँदैन। राम्रो स्वास्थ्यका लागि केराका साथै विभिन्न थरीका फलफूल, तरकारी, दाल, गेडागुडी तथा प्रोटिनयुक्त खाद्यपदार्थलाई पनि भोजनको हिस्सा बनाउनु जरुरी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖