नयाँ दिल्ली । दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको उडान एफजेट १०७३ मा बुधबार ओमानी सहचालकले जहाज दुर्घटना गराउने नीयतमै भारतीय पाइलट स्मित मच्छारमाथि छुरा प्रहार गरे।
छुरा प्रहारबाट गम्भीर घाइते भएका मच्छारले समयमै ककपिटको बन्द ढोका खोलिदिए, जसका कारण अन्य यात्रु र क्रू–सदस्यहरू भित्र छिरेर आक्रमणकारी सहचालकलाई नियन्त्रणमा लिन सफल भए।
आक्रमणमा गम्भीर घाइते भएका मच्छारबाहेक उडानमा रहेका अन्य सम्पूर्ण यात्री तथा क्रू–सदस्यहरू सुरक्षित रहेका छन्। जहाजमा यात्रा गरिरहेका फ्लाई दुबईकै दुई जना अन्य पाइलटहरूले तत्काल ककपिटको कमान्ड सम्हाल्दै विमानलाई साउदी अरबको तबुकमा सुरक्षित अवतरण गराए। उक्त उडानमा इजरायली नागरिकका साथै अन्य देशका यात्रुहरू पनि सवार थिए।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस घटनालाई ‘अत्यन्त गम्भीर सुरक्षा घटना’ को रूपमा वर्णन गरेका छन्। पछि सामाजिक सञ्जालमा अर्को पोस्ट गर्दै उनले क्याप्टेन स्मित मच्छारको असाधारण बहादुरीको प्रशंसा गरे।
‘असाधारण बहादुरीका लागि म भारतीय पाइलट क्याप्टेन स्मित मच्छारलाई सलाम गर्छु,’ नेतान्याहुले लेखे, ‘छुरा प्रहारबाट गम्भीर घाइते भएर पनि उनले प्रतिकार गरे। उनले ककपिटको ढोका खोलेर यात्रु र क्रु सदस्यलाई आक्रमणकारीलाई नियन्त्रणमा लिन सक्षम बनाए, जसले ठुलो हवाई दुर्घटना टर्यो।’
‘उनले इजरायली नागरिकसहित १७४ जनाको ज्यान बचाएका छन्,’ नेतान्याहुले थपे, ‘म क्याप्टेन मच्छारको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु, उनी वास्तविक नायक हुन्।’
प्रधानमन्त्री नेतान्याहुले ककपिटमा छिरेर जहाज नियन्त्रणमा लिन सहयोग गर्ने यात्रु यानिभ हायुनसँग पनि भेटघाट गरे। हायुनका अनुसार उनले आक्रमणकारी सहचालकको घाँटीमा कसेर ककपिटबाहिर तानेका थिए।
‘त्यहाँ सिटमा कोही पनि पाइलट थिएनन्, एक जना भुइँमा र अर्का प्यानलमा ढलेका थिए,’ हायुनले भने, ‘मैले जहाजमा रहेका केही इजरायलीहरूलाई बोलाएँ र दुई जना आएर आक्रमणकारीलाई थिचे। त्यसपछि म पछाडि हटेर नियन्त्रण ह्यान्डल तानेर जहाज नियन्त्रणमा लिन थालेँ।’
अति जटिल अवस्थामा जहाज कसरी नियन्त्रण गर्न सक्यौ भनेर नेतान्याहुले सोध्दा ती यात्रुले आफूले टेलिभिजन शो ‘एयर क्र्यास इन्भेस्टिगेसन’ हेर्ने गरेकाले सामान्य ज्ञान भएको बताए।
हाल यस घटनाको छानबिन फ्लाई दुबई र अन्य अनुसन्धान निकायहरूले गरिरहेका छन्। साउदी अधिकारीहरूले ओमानी सहचालकसँग सोधपुछ गरिसकेको जानकारी इजरायली प्रधानमन्त्रीले दिएका छन्। प्रारम्भिक रिपोर्ट अनुसार क्याप्टेन स्मित मच्छार बेहोस हुनुअघि नै ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि बोइङ ७३७ म्याक्स ८ विमानलाई दुई पाइलटहरूले तबुक विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराए।
घाइते पाइलट मच्छारको हेरचाहका लागि उनका आमाबुबा तबुक पुगिसकेका छन्। मच्छारका भाइ पनि भर्खरै फ्लाई दुबईमा पाइलटका रूपमा आबद्ध भएका छन्, यद्यपि उनले उडान सुरु गर्न बाँकी छ।
यसैबिच अनुसन्धान जारी रहेकाले फ्लाई दुबईले दुबई र तेल अभिभबिच हुने आफ्ना दैनिक १० उडानहरू आगामी छ दिनका लागि स्थगित गरेको घोषणा गरेको छ। यो स्थगन अस्थायी रहेको र सम्बन्धित निकायहरूलाई तथ्य पत्ता लगाउन सहज होस् भन्नका लागि उडान रोकिएको फ्लाई दुबईका प्रवक्ताले जनाएका छन्।
‘हामी सरकारी निकाय, नियामकहरू र विमानस्थल सरोकारवालाहरूसँग निकट समन्वयमा छौँ,’ प्रवक्ताले भने, ‘थप जानकारी प्राप्त भएपछि उडान स्थगनको पुनरावलोकन गरिनेछ।’
‘यात्रा योजना प्रभावित भएका यात्रुहरूसँग हामी क्षमा माग्छौँ,’ प्रवक्ताले थपे, ‘उनीहरूका लागि वैकल्पिक व्यवस्था र सहयोग पुर्याउन हामी काम गरिरहेका छौँ।’
