• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय सदस्य पाठकको परिवारका ११ जना क्षेत्रीय प्रतिनिधि, ‘सर्वसम्मत चयन भएको’ दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकले आफ्नै परिवारका ११ जनालाई क्षेत्रीय प्रतिनिधि बनाएको खुलेको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नम्बर ९ मा भएको वडा अधिवेशनबाट पाठकसहित उनका परिवारका ११ जना क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्।

प्राप्त प्रतिनिधि सूचीअनुसार वडा अधिवेशनबाट चयन हुने २४ क्षेत्रीय प्रतिनिधिमध्ये ११ जना पाठक परिवारका सदस्य रहेका छन्। सूचीमा चन्द्र शेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, बेदव्यास पाठक, भोला पाठक, विश्वेश्वरप्रसाद पाठक र राधेश्याम पाठकको नाम रहेको छ।

उक्त वडा अधिवेशन असोज ५ गते सम्पन्न भएको थियो। परिवारका ११ जना नै क्षेत्रीय प्रतिनिधि बनेपछि कांग्रेसका केही स्थानीय कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। एक स्थानीय कांग्रेस नेताले पाठकले आफ्नो प्रभाव प्रयोग गरेर अन्य कार्यकर्तालाई पाखा लगाउँदै परिवारका सदस्यलाई प्रतिनिधि बनाएको आरोप लगाएका छन्।

तर केन्द्रीय सदस्य पाठकले भने आफूले कुनै दबाब वा जबरजस्ती नगरेको दाबी गरेका छन्। उनले ११ जना प्रतिनिधि बनेको स्वीकार गर्दै उनीहरू निर्वाचनबाट नभई सर्वसम्मत रूपमा चयन भएको बताएका छन्।

‘हो, ११ जना प्रतिनिधि भएका छन्। निर्वाचन भएको होइन। जनताले हाम्रो लगानीलाई देखेर सर्वसम्मत बनाइदिएका हुन्,’ पाठकले भनेका छन्, ‘मैले बनाएको होइन, सर्वसम्मत भएका हुन्। हाम्रो परिवार २ सय जनाको छ, ११ जना हुनु कुनै ठूलो कुरा होइन।’

पाठक गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट मधेसी कोटाबाट केन्द्रीय सदस्य बनेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖