• Monday 5th of October 2026

१४औँ महाधिवेशनपछि गठित कार्यसमितिमा रहेकामध्ये देउवा पक्षमा को–को रहे ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। नेपाली कांग्रेसको पहिलोदेखि १४औँ महाधिवेशनसम्म अघिल्लो पटक सभापतिमा निर्वाचित वा प्रतिस्पर्धी अर्को महाधिवेशनमा सहभागी नभएको इतिहास विरलै छ । १५औँ महाधिवेशनमा कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा प्रतिपस्पर्धा गरेका ५ जना नै उपस्थित छैनन्।

२०७८ मंसिर २४ देखि २७ गतेसम्म कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिए । पहिलो चरणमा आवश्यक ५० प्रतिशत मत कसैको पनि आएन । त्यसपछि धेरै मत ल्याउने २ जना शेरबहादुर र डा.शेखरबिच दोस्रो चरणमा भएको प्रतिस्पर्धामा देउवा सभापतिमा निर्वाचित भएका थिए।

१४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ १५औँ महाधिवेशनमा सहभागी छैनन् ।

कांग्रेसमा केन्द्रीय समितिको असहमतिबिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनीहरू महाधिवेशनमा सहभागी नभएका हुन् ।

उनीहरूबाहेक १४औँ महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित बहुमत सदस्यहरू भने १५औँ महाधिवेशनमा सहभागी छन् । १४औँ महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका थिए । तीमध्ये गुरूङ महाधिवेशनमा सहभागी छन् भने खड्का सहभागी छैनन् । महामन्त्रीमा निर्वाचित थापा र शर्मा दुवै महाधिवेशनमा सहभागी छन् ।

१४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, बद्री पाण्डे, जीवन परियार, उमाकान्त चौधरी, महेन्द्र यादव, भीष्मराज आङदेम्बे निर्वाचित भएका थिए । तीमध्ये पाण्डे र चौधरीबाहेकका ६ जना महाधिवेशनमा सहभागी छन् ।

२०७८ मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा भएको १४औँ महाधिवेशनबाट १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यसहित कुल १३४ सदस्य निर्वाचनबाट निर्वाचित भएका थिए । गत माघ १ गते घोषित विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिमा रहेका ३२ जना सहभागी भएका थिए ।

देउवा नेतृत्वको समितिमा रहेका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माकै अगुवाइमा भएको विशेष महाधिवेशनबाट थापा सभापति र शर्मा उपसभापति बने । देउवा नेतृत्वको समितिमा केन्द्रीय सदस्य रहेका प्रदीप पौडेल महामन्त्री बने । यस्तै तत्कालीन सहमहामन्त्री फरमुल्लाह मन्सुर विशेष महाधिवेशन पछि पनि सोही पदमा रहे । १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी पुष्पा भुसाल विशेष महाधिवेशनबाट उपसभापति बनिन् ।

थापा नेतृत्वको कार्यसमितिमा मन्सुरबाहेक निर्विरोध चयन भएका अन्य सात सहमहामन्त्री देउवा नेतृत्वको कार्यसमितिका केन्द्रीय सदस्य थिए । सहमहामन्त्रीमा निर्विरोध चयन भएका डा. डिला संग्रौला पन्त, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदय शमशेर राणा, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी, र कर्णबहादुर बुढा केन्द्रीय सदस्य थिए ।

देउवा नेतृत्वको केन्द्रीय समितिका २० केन्द्रीय सदस्यहरू थापा नेतृत्वको समितिमा पनि केन्द्रीय सदस्य बनेका थिए । थापा नेतृत्वको समितिमा गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्र केसी, अर्जुनप्रसाद जोशी, चिनकाजी श्रेष्ठ, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुब वाग्ले, विनोद चौधरी, मोहन आचार्य, अजयबाबु सिवाकोटी, जानकी सिंह, नानु बास्तोला, धना खतिवडा, प्रतिमा गौतम, तारामान गुरुङ, अब्दुल सत्तार, अब्दुल रज्जाक र गोपाल दहित सदस्य बने । तीमध्ये गोपालमान श्रेष्ठको निधन भइसकेको छ ।

त्यसपछि देउवा नेतृत्वको कार्यसमितिमा रहेका १९ जनालाई थापाले गत वैशाख २८ गते केन्द्रीय समितिमा मनोनयन गरेका थिए । थापाले देउवा नेतृत्वको कार्यसमितिमा सहमहामन्त्री रहेका जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरे । ती बाहेक उमेश श्रेष्ठ, रमेश रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव कोइराला, राजीव ढुंगाना, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, दिनेश कोइराला, डा. जीवन राना र सीता थपलिया (उर्मिला) लाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

उमेश श्रेष्ठलाई १४औँ महाधिवेशनपछि देउवाले कोषाध्यक्ष बनाएका थिए। थापाले पनि उनैलाई कोषाध्यक्ष बनाएका छन्।

त्यो बाहेक असोज २ गते केन्द्रीय कार्यसमिति बैठकले १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका नेताहरूलाई सोही हैसियत प्रदान गर्ने निर्णय गरेपछि अधिकांश नेताहरू संस्थापन पक्षतिर खुलेका थिए । त्यो बेला सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, किशोरसिंह राठौरसहितका सदस्यहरू बालकृष्ण खाण, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, नैनसिंह महर, रामहरि खतिवडा, सीता गुरुङ, किरण यादवसहितका दुई दर्जन बढी नेताहरू गगनतिर खुलेका थिए। यसले देउवा समूहलाई कमजोर बनाएको छ ।

देउवा समूहतिर देउवासहित निवर्तमान कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह छन् । शशांक कोइरालालाई देउवा समूहले समानान्तर महाधिवेशन गर्नका लागि महाधिवेशन आयोजक समितिको संयोजक बनाएको छ । अब देउवा समूहमा देउवा पत्नीसमेत रहेकी आरजु राणा देउवा, निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरी, एनपी साउद, रमेश लेखक, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, गुरू बराल, दीपक खड्का, कुन्दन काफ्ले, जितजंग बस्नेत, कृष्ण केसी छन् ।

सो समूहमा निवर्तमान केन्द्रीय सदस्यहरू शिव हुमागाईं, सीता देवकोटा, विद्या तिमलसिना, सुजता परियार, किरण शर्मा पौडेल, लक्ष्मी खतिवडा, डा. रणबहादुर रावल, रंगमती शाही, नृप वड, पद्मनारायण चौधरीसहितका नेताहरू छन् ।

डा. शेखर कोइरालाको नेतृत्वमा केही नेता दुवैतिर नलागी तटस्थ बस्ने भनिरहेका छन् । उक्त समूहमा डा. शेखर, बलबहादुर केसी, निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, सञ्जय गौतम, सरिता प्रसाईसहितका नेता छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖