लिस्बन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाड्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै त्यसका लागि सजाय भोग्न तयार रहेको बताएका छन्। तर उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने संन्यास नलिने स्पष्ट पारेका छन्।
मुख्य प्रशिक्षक जोर्जे जिसससँगको विवादपछि रोनाल्डोले गत साता नेसन्स लिगको प्रशिक्षण क्याम्प छाडेका थिए। नर्वेविरुद्धको खेलमा बेन्चमा बसेका र डेनमार्कविरुद्ध सुरुवाती ११ मा नपर्ने थाहा पाएपछि आफूले क्याम्प छाडेको उनले बताएका छन्।
करिब २ हजार शब्दको वक्तव्य जारी गर्दै रोनाल्डोले जिससले आफूसँग दुई पटक वाचा तोडेको आरोप लगाएका छन्। नर्वेविरुद्ध ३० मिनेट खेलाउने भनिए पनि मैदानमा नउतारेको र पछि सञ्चारमाध्यममा आफूहरूसँग भएको सहमतिभन्दा फरक अभिव्यक्ति दिएको उनको भनाइ छ।
रोनाल्डोले क्याम्प छाड्नु गलत भएको स्वीकार गर्दै पोर्चुगल फुटबल महासंघले आफूलाई आवश्यक सजाय दिनुपर्ने बताएका छन्। उनले राष्ट्रिय टोलीका सहकर्मी र पोर्चुगिज समर्थकसँग समेत माफी मागेका छन्।
यद्यपि, शारीरिक रूपमा फिट रहुन्जेल र क्लबबाट खेलिरहँदासम्म आफू पोर्चुगलका लागि उपलब्ध हुने उनले स्पष्ट पारेका छन्। ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन्।
करियरमा ९७९ गोल गरेका रोनाल्डो अहिले आफ्नो १ हजारौँ गोलको खोजीमा छन्। पोर्चुगलले रोनाल्डोबिना नै नर्वे र डेनमार्कविरुद्धका खेल जितेको थियो।
