काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा पराजित भएपछि श्यामकृष्ण खड्गीले गगन थापालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘यस निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाउनुभएका सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरू तथा मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग, सद्भाव र हौसला प्रदान गर्नुहुने सम्पूर्ण साथीहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। तपाईँहरूले दिनुभएको माया, विश्वास र साथ मेरा लागि अमूल्य राजनीतिक सम्पत्ति हो। निर्वाचनको परिणाम जे भए पनि तपाईँहरूसँगको आत्मीय सम्बन्ध, विश्वास र सहकार्यलाई म सधैँ सम्मान गर्नेछु।’
विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न भएका असमझदारी र विभाजनका भावनालाई अन्त्य गर्दै, छुट्टै महाधिवेशनको बाटोमा रहेकालाई समेत संवाद, सहमति र सम्मानका साथ एकताको मूलधारमा समेट्नु आजको प्रमुख आवश्यकता रहेको उनले उल्लेख गरेका छन् ।
उनी भन्छन्– ‘गगनजी, अब तपाईँ सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस्। कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस्, सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून्।’
‘नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुने उनले उल्लेख गरेका छन् । मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन। प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन’, उनले भने ।
