काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले बङ्गालको खाडीमा रहेको अर्नब चक्रवात थप शक्तिशाली बन्दै गएकोले तीन दिन सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्राधिकरणले सो चक्रवातका कारण कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने र यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत प्राधिकरणले जनाएको छ । साथै यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिम पहिरोको उच्च जोखिम रहेको समेत जनाएको छ ।

