रौतहट १६ कार्तिक। भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लामा एउटा मुसामाथि अमानवीय क्रूरता गरिएको घटना सार्वजनिक भएको छ। चारजना युवाले मुसालाई पिँजडामा थुनेर डोरीले बाँधी फलामको गेटमा झुन्ड्याएपछि पेट्रोल छर्केर आगो लगाई मारेको घटना बाहिर आएको हो।
झाँसीको ओरछा गेटस्थित कसाई मण्डी क्षेत्रमा भएको उक्त घटनामा युवाहरूले सुरुमा मुसालाई पिँजडामा नियन्त्रणमा लिएका थिए। त्यसपछि डोरीले बाँधेर फलामको गेटमा झुन्ड्याई शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जल्न थालेपछि मुसा छटपटाउँदै यताउता भागेको र अन्ततः पीडादायी अवस्थामा मरेको बताइएको छ।
आरोपित युवाहरूले उक्त क्रूर घटनाको भिडियो आफ्नै मोबाइलमा खिचेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेका थिए। भिडियो भाइरल भएपछि पशुप्रेमी तथा सर्वसाधारणले घटनाप्रति आक्रोश व्यक्त गर्दै संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाहीको माग गरेका थिए।
घटनाबारे प्रहरीका उच्च अधिकारीको ध्यानाकर्षण भएपछि झाँसीस्थित सहर कोतवाली प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो।
कोतवाली थाना प्रभारी अञ्जन कुमार सिंहका अनुसार प्रहरी सहायक निरीक्षक रोहित कुमारको जाहेरीका आधारमा आरोपितहरूविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा ३२५ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। घटनासम्बन्धी मुद्दा नम्बर ३१९/२६ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो र प्राविधिक निगरानीका आधारमा छापा मारेर घटनामा संलग्न रहेको आरोपमा जुनैद कुरैशी, आसिफ कुरैशी र शफीक कुरैशीलाई पक्राउ गरेको छ।
घटनामा संलग्न चौथो आरोपी जीशान कुरैशी भने अझै फरार रहेको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको थाना प्रभारी सिंहले जानकारी दिएका छन्।
