• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, १ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

दैलेख । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका—४, धनकोटमा आइतबार बिहान एक जना व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेको घटनामा घाइते भएकी बीमा पुनमगरको मृत्यु भएको छ । उक्त वडाका वडाध्यक्ष केहेरसिंह कठायतले चन्द्रबहादुर पुनकी श्रीमती ४५ वर्षीया बीमाको मृत्यु भइसकेको पुष्टि गरेका छन् ।

सोही ठाउँका स्थानीय अन्दाजी ३६–३७ वर्षीय बमबहादुर रावलले बिहान सुतिरहेका बेला आएर एक्कासि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बीमाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।

उनका अनुसार, बाँकी ४ जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रबहादुरकी २५ वर्षीया भाइ बुहारी महेसरा पुन तथा छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुनमगर घाइते भएका छन् ।

तिलाको बिहे कालिकोट भएको थियो । उनी माइतीघरमा नाबालक छोरीसहित बसेकी थिइन् । रावलले उनका ४ महिनाका छोरीमाथि पनि हतियार प्रहार गरे ।

‘महेसराको दुवै हत्केला छिनेको अवस्था छ,’ घटनास्थलमा पुगेका वडाध्यक्ष कठायतले भने । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा ल्याइएको छ । त्यहाँ सामान्य उपचार भए पनि गम्भीर खालको उपचार हुँदैन ।

हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी रहे पनि प्रक्रियागत समस्याले ढिलाइ भएको हाल प्राथमिक स्वास्थ्य केन्द्रमै रहेका सुशील रावतले बताए ।

प्रहरीले धारिलो हतियार प्रहार गर्ने रावललाई नियन्त्रणमा लिइसकेको छ । वडाध्यक्ष कठायतका अनुसार, बिहान सुतिरहेका बेला एक्कासि आएर रावलले मगर परिवारलाई हँसिया प्रहार गरेका थिए ।

‘खासै झै झगडा पनि थिएन, मिलेरै बसेको समाज हो भन्छन्, यहाँ,’ उनले भने ‘बमबहादुरको मानसिक अवस्था खासै राम्रो नभएको भनिएको छ । त्यो अनुसन्धानबाट खुल्ला ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖