काठमाडौं। ग्राण्डी सिटी क्लिनिक अस्पताल खाली गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै गैरकानुनी र अदालतको फैसलाविपरीत ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पीटल प्रालिले घर÷फ्ल्याट कब्जा गर्न लागेको ज्योति समूह (पद्य ज्योति)ले जनाएको छ।
ज्योति समूहले एक विज्ञप्ति जारी गर्दै ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पीटल प्रालिबाट गैरकानुनी र अदालतको फैसला विपरीत घर÷फ्ल्याट कब्जा गर्ने काम भएको जनाएको हो।
ज्योति समूहका अनसार २०३९ मै अंशबण्डा भई पद्य ज्योतीको नाममा दर्ता रहेको काठमाडौं महानगर पालिका वडा नम्बर २७ कित्ता नम्बर २३१० जग्गामा बनेको घरको प्रथम तल्लाको ५२२५.६८ वर्गफुट र दोस्रो तल्लाको ६९३४ वर्गफुट गरी दुई तल्ला घर÷फ्ल्याट मासिक भाडा रकम १ लाख ८० हजार रुपैंया दिने मौखिक सहमति भएको थियो।
उक्त सहमतिअनुसार १२,१५९.६८ वर्गफुट डा. रुपज्योति संचालक अध्यक्ष भएको ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पीटलले २०७१ साल देखि प्रयोग गरी रहेको छ।
सो घर फ्ल्याट हाल आफैंलाई आवश्यक परेकाले २०७६ साल देखि पटक पटक बहाल रकम बुझाई घर फ्ल्याट खाली गरिदिन लिखित तथा मौखिक रुपमा भन्दा समेत खाली गर्न नमानेको कारण बाध्य भई उक्त दुई तल्ला घर÷फ्ल्याट (१२,१५९.६८ वर्गफुट) खाली गराई निवेदन दर्ता गर्दा सम्म हुन आएको जम्मा घर भाडा रकम १ करोड ५४ लाख ३२ हजार रुपैंया र मुद्दा अन्तिम भई घर फ्ल्याट खाली गराई बहाल भरी भराउ हुँदा सम्म हुन आउने थप बहाल रकम स्थानिय सरकार संचालन ऐनअनुसार घर खाली गराई पाउँ काठमाडौं माहानगरपालिका न्यायिक समिति समक्ष ज्योति समूहले निवेदन दर्ता गरेको थियो।
यसपछि मुद्दा काठमाडौं जिल्ला अदालतसम्म पुगेको थियो। अदालतबाट घर÷फ्ल्याट खाली गराउनु भनी अन्तिम फैसला भई फैसला कार्यान्वयन गराउन खोज्दा सो काम नगरिएको ज्योति समूहले जनाएको छ। अस्पताल खाली गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै धमाधम बिरामीहरु भर्ना लिने र उनै बिरामीहरुको आडमा अरुको घर÷फ्ल्याट अनन्त काल सम्म गैरकानूनी ढंगले कब्जा गर्न खोजिएको आरोप ज्योति समूहको भनाइ छ।
