• Tuesday 6th of October 2026

आईपीएल अक्सन २०२४ भोलि र पर्सी: को बन्ला सबैभन्दा महँगो खेलाडी ?


  • धनकुटा खबर
  • .

इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन यसपटक साउदी अरेबियाको जेदाहमा हुँदैछ । क्रिकेट समर्थकका लागि यो कार्यक्रम चासोको केन्द्र बनेको छ । सबैको ध्यान यो पटक कसले सबैभन्दा महँगो खेलाडीको कीर्तिमान बनाउने भन्नेमा केन्द्रित छ ।

गत सिजनको कीर्तिमान तोडिने अपेक्षा
पछिल्लो सिजन कलकत्ता नाइट राइडर्सले माइकल स्टार्कका लागि २४.७५ करोड भारतीय रुपैयाँ खर्चेर आईपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनाएको थियो । यसपटक पनि यही रेकर्ड तोडिने अनुमान गरिएको छ।

खासगरी, सनराइजर्स हैदरावादले रिटेन गर्दा हेन्रिक क्लासेनलाई तिरेको २३ करोड पार हुने सम्भावनाले अक्सनलाई अझ रोचक बनाएको छ ।

चर्चामा रहेका खेलाडीहरू

१. ऋषभ पन्त
दिल्लीबाट खेल्दै आएका पन्त अक्सनमा जाने निर्णय गरेका छन्। उनका लागि २० करोडभन्दा बढीको बोलकबोल हुने अपेक्षा छ। उनी ब्याट्सम्यान, विकेटकिपर, र कप्तानका रूपमा टोलीका लागि बहुपयोगी खेलाडी हुन्।

२. श्रेयस ऐयर
कलकत्ताबाट गत सिजन उपाधि जिताएका ऐयर अहिले कुनै टोलीमा छैनन्। पन्जाब किंग्सले उनलाई कप्तानको रूपमा अनुबन्ध गर्ने सम्भावना बलियो छ।

३. लोकेश राहुल
७ सिजनमा पाँच सयभन्दा बढी रन बनाएका राहुल धेरै टोलीका लागि प्राथमिकतामा छन्। विकेटकिपर ब्याट्सम्यानको भूमिकामा रहेका राहुल रोयल च्यालेन्जर बेंग्लोरुमा फर्कने अनुमान गरिएको छ।

४. जोस बटलर
इङ्ल्यान्डका कप्तान बटलर चौथो धेरै रन बनाउने खेलाडीका रूपमा उत्कृष्ट फर्ममा छन्। पावर प्ले र डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने उनको क्षमता टोलीका लागि महत्वपूर्ण मानिन्छ।

५. आर्सदिप सिंह
पछिल्ला सिजनहरूमा डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गरेका आर्सदिप बलिङको लागि अक्सनका चर्चित खेलाडीमध्ये एक हुन्।

६. लियाम लिभिङस्टोन
पारीको दोस्रो हाफमा शक्तिशाली प्रहार गर्न खप्पिस लिभिङस्टोनले तीन सिजनमा ५७५ रन प्रहार गरेका छन्।

स्पिनरहरूको सम्भावना घट्यो
गत सिजन स्पिनरहरूको प्रदर्शन औसत रहेकाले यसपटक स्पिनरमा ठूलो रकम खर्च हुने सम्भावना कम छ। रसिद खान र सुनिल नारायणजस्ता खेलाडीहरू रिटेन भइसकेका छन् ।
साउदी अरबमा आयोजना भइरहेको यस अक्सनले आईपीएल २०२४ को टोली संरचना र खेलाडीको भविष्य निर्धारण गर्नेछ । को बन्ला सबैभन्दा महँगो खेलाडी ? समर्थकहरू यसैका लागि उत्साहित छन् ।

टप १० महँगा खेलाडीहरू (इतिहाससम्मका)

१. माइकल स्टार्क (कलकत्ता नाइट राइडर्स): २४.७५ करोड
२. प्याट कुमिन्स (सनराइजर्स हैदरावाद): २०.५० करोड
३. साम कुरान (पन्जाब किंग्स): १८.५० करोड
४. क्यामरुन ग्रिन (मुम्बई इन्डियन): १७.५० करोड
५. बेन स्टोक्स (चेन्नाइ सुपर किंग्स): १६.२५ करोड
६. क्रिस मोरिस (राजस्थान रोयल्स): १६.२५ करोड
७. युवराज सिंह (दिल्ली डेयरडेभिल्स): १६ करोड
८. निकोलस पुरन (लखनउ सुपरजायन्ट्स): १६ करोड
९. प्याट कुमिन्स (कलकत्ता नाइट राइडर्स): १५.५० करोड
१०. ईशान किसन (मुम्बई इन्डियन): १५.२५ करोड

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖