• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

निकिताले मागिन् रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण


  • धनकुटा खबर
  • .

काठमाडौं, २ पुुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्नो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण पेश गर्न चुनौति दिएकी छन् । विभिन्न मिडियाहरुले आफ्नो श्रीमान प्रहरी हिरासतमा रहेको बेला अनावश्यक प्रचार गरी पुरुषार्थ देखाएको टिप्पणी गर्दै उनले आफू अहिले पनि प्रमाण कुरिरहेको बताएकी छन् ।

आज आफ्ना बाबु उद्धव पौडेलसँग भएको कुराकानीको प्रसंग उल्लेख गर्दै उनले लामिछानेको विषयमा समाचार लेख्दा मिडियाहरुले पनि धर्म छाडेको टिप्पणी गरेकी छन् । संवेदनशील विषयमा मिडिया र मिडियाकर्मीहरु संवेदनहीन बनेको उनले बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्ः

आज विहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’

मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’

बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’ को। कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ।

खाता मेरो हो। यति–उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि । श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु। मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖