काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुग्न आज (बुधबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टबीच ‘महाभिडन्त’ हुँदैछ । यी दुई टोली जारी एनपीएलमा उच्च लयमा देखिएकाले यसलाई ‘महाभिडन्त’ भनिएको हो ।
दिउँसो सुरु १ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यस खेलका लागि क्रिकेट समर्थक व्यग्र प्रतीक्षा गरिरहेका छन् । लिग चरणमा पहिलो र दोस्रो स्थान प्राप्त गरेकाले यी दुई टोलीले क्यालिफायर–१ खेल्ने अवसर पाएका हुन् । लिग चरणमा ७ मध्ये ६ खेल जित्दै सुदूपश्चिम शीर्ष स्थानमा रहेको थियो भने ५ खेल जितेको जनकपुर दोस्रोमा रह्यो ।
जित्ने टोली सिधै फाइनलमा पुग्ने भएकाले बलिया मानिएका दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने विश्वास गरिएको छ । यी दुई टोली समूह चरणदेखि नै प्रतिद्वन्द्वीता चलिरहेको छ । विशेषगरी समर्थकबीच । लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई हराएपछि त्रिवि मैदानमा समर्थकबीच तनावको वातावरणसमेत सिर्जना भएको थियो । यसर्थ यी दुई टोलीबीचको भिडन्तलाई ‘क्लासिको’को संज्ञा दिइएको छ । यसमा पराजित टोलीले एलिमिनेटरको विजेता टोलीसँग फेरि फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।
आजै हुने पहिलो प्लेअफ खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । प्लेअफमा पुगेका ४ टोलीमध्ये तेस्रो र चौथोमा स्थान बनाएपछि चितवन र कर्णाली आज एलिमिनेटरमा प्रतिस्पर्धी भएका हुन् । लिग चरणमा चितवन तेस्रो तथा कर्णाली चौथो भएका थिए ।
क्यालिफायर–२ मा स्थान बनाउन भइरहेको यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । आजको खेलमा पराजित टोली बाहिरिने छ । जित्ने टोलीले क्वालिफायर– १ मा पराजित टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।
