काठमाडौ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि प्रहरीले अनुसन्धान थालेको छ।
हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्मालाई बिहीबार अन्नपूर्ण टाइम्सले जिज्ञासा राख्दा उनले अनुसन्धान/छानबिन भइरहेको बताए।
त्यो तस्बिर रवि लामिछानेकै हो कि होइन भन्ने प्रश्नमा डीएसपी शर्माले होइन भने भन्न सकेनन्। उनले भने, ‘हो, होइन, त्यो तस्बिर कसरी बाहिरियो, ती सबै कुरा पत्ता लगाउनकै लागि त अनुसन्धान गरिरहेका छौँ।’
रास्वपाका नेताले उक्त तस्बिर आफ्नै सभापति रवि लामिछानेकै भएको जिकिर गर्दै आपत्ति जनाइरहेका छन्। अर्कातर्फ कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यो तस्बिर नै रविको होइन भन्ने दाबी गरिरहेका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत रवि गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन्।
पछिल्लोपटक अर्थात् आठौँपटक यही पुस २ गते जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
