• Tuesday 3rd of November 2026

शेरा दरबार प्रकरणमा प्रचण्डको बदनाम प्रयास गरेको भन्दै नेत्री तामाङको कडा प्रतिक्रिया


  • धनकुटा खबर
  • .

नुवाकोट : माओवादी केन्द्रकी नेत्री राधिका तामाङले पछिल्लो समय शेरा दरबार जग्गा प्रकरणलाई लिएर सरकार र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई चेतावनी दिएकी छिन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले माओवादी केन्द्रले शुशासन र भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिने बताएकी छिन्।

राधिका तामाङले लेखेकी छिन्, “माओवादी पार्टी भ्रष्टाचारी नेता जोगाउन कोहीसँग गठबन्धन गर्दै हिंड्दैन। शेरा दरबार प्रकरण तीनै भ्रष्टाचारीका मतियारहरूको षड्यन्त्र हो। यदि गठबन्धन सरकारसँग हिम्मत छ भने, उक्त जग्गा सरकारको नाममा ल्याएर दोषीलाई कारबाही गरोस्। यसमा माओवादी केन्द्र पूर्ण रूपमा सहयोग गर्न तयार छ।”

माओवादी केन्द्र र नेतृत्व प्रचण्डप्रति जनताको बढ्दो समर्थनले सरकारका नेतृत्व र भ्रष्टाचारमा संलग्न शक्तिहरू आतंकित भएको उनको भनाइ छ।

तामाङले शुशासनका मुद्दाहरू उठाउँदै भ्रष्टाचारमा कुनै सम्झौता नगर्ने पार्टीको अडान दोहोऱ्याएकी छिन्। शेरा दरबार प्रकरणलाई प्रपञ्चको संज्ञा दिँदै उनले माओवादीलाई बदनाम गर्न खोज्नेहरूको विरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएकी छिन्।

हक्की स्वभावकी तामाङ नुवाकोटमा माओवादीको भावी नेतृत्वको रूपमा हेरिएकी छन्। उनलाई नुवाकोट -१ को भावी सङ्घीय सांसदको रूपमा पनि धेरैले चिन्दछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖