काठमाडौँ । नेपालको राजनीतिक तापक्रम फेरि एकपटक उचाइमा पुगेको छ। देशका दुई प्रमुख तथा गतिशील अनुहार मानिएका नेपाली कांग्रेसका सभापति गगन थापा र प्रधानमन्त्री बालेन्द्र शाहबीच सामाजिक सञ्जालमा देखिएको वाक्युद्धले नेपालको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।
यो दुई नेताबीचको जुहारी मात्र होइन, बरु यसले आसन्न राजनीतिक धुव्रीकरण र आगामी दिनका सम्भावित सडक संघर्षको सङ्केत गरिरहेको छ।
केही दिनअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक कडा चेतावनीयुक्त अभिव्यक्तिबाट यो वाक्युद्धको बीजारोपण भएको देखिन्छ। प्रधानमन्त्री शाहले लेखेका थिए- “सही समय आएपछि सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।”
यो अभिव्यक्तिले राजनीतिक बजारमा काउन्टडाउन शुरु भइसकेको सन्देश दियो। यो चेतावनी कसलाई लक्षित थियो भन्ने बुझ्न धेरै समय लागेन।
प्रधानमन्त्रीको यो प्रहार ठीक आफ्नोतर्फ लक्षित रहेको ठहर गर्दै कांग्रेस सभापति गगन थापाले पनि त्यसको केही दिनपछि आक्रामक प्रतिवाद गरे। सामाजिक सञ्जालमै सभापति थापाले लेखे- “तर्साउने धेरै आए, तर्सिने बानी परेन।”
दुई शीर्ष नेतृत्वबीचको यो जुहारीले मुलुकको कार्यकारी प्रमुख र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका सभापतिबीचको चिसो सम्बन्धलाई छताछुल्ल पारिदिएको छ।
यसैबीच, कांग्रेसभित्र सरकारविरुद्ध आक्रामक ढङ्गले सडकमा ओर्लिने आन्तरिक तयारी तीव्र भएको बताइएको छ। सभापति थापाले कुनै पनि प्रकारको धम्की वा दबाबबाट पछि नहट्ने सङ्केत दिएसँगै कांग्रेस र सरकारबीचको सम्बन्ध शत्रुतापूर्ण बन्ने खतरा बढेको छ।
प्रधानमन्त्री शाहले ‘गलत समय आएपछि’… भन्दै दिएको अभिव्यक्तिलाई भ्रष्टाचारविरोधी कारबाही र छानबिनसँग जोडेर पनि हेरिएको छ। यदि सरकारले भ्रष्टाचारविरोधी कारबाही अगाडि बढायो भने राजनीतिक प्रतिशोधको रूपमा नभई न्यायिक निरुपण गर्न जरुरी छ । भ्रष्टाचारविरोधी कारबाही र छानबिन प्रक्रिया यदि कानुनसम्मत र निष्पक्ष भयो भने मात्र त्यसले समाजमा न्यायको अनुभूति गराउन सक्छ, अन्यथा राजनीतिक बदलाको अर्को एक अध्यायमा मात्र सीमित हुनेछ। त्यसैले सरकार यो विषयमा अत्यन्त सचेत हुन जरुरी छ ।
नेपाली राजनीतिमा गगन थापा र बालेन शाह दुवै नेताहरू युवा पुस्तामाझ परिवर्तन र सुशासनका आशा बोकेका पात्रहरू हुन्।दुवै नेताहरू पारम्परिक राजनीतिको भित्ता भत्काएर केही नयाँ गर्नुपर्छ, देशमा सुशासन र विकास ल्याउनुपर्छ भन्ने हुटहुटी बोकेका दुई फरक धारका लोकप्रिय पात्र हुन्। थापा एउटा लामो संसदीय र साङ्गठनिक सङ्घर्षबाट खारिएर आएका राजनीतिक दलभित्रको सुधारका प्रतीक हुन् भने शाह रूपान्तरणको ठोस नतिजा देखाएर उदाएका स्वतन्त्र शक्तिका प्रतीक हुन्।
यी दुई नेताहरू देश र जनताको हितका लागि मिलेर अगाडि बढ्ने हो भने त्यसले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउन सक्छ। तर, ‘तर्साउने’ र ‘नतर्सिने’ भन्ने उनीहरुको अभिव्यक्ति र टकरावले चाहिँ आगामी दिनमा देशको राजनीतिलाई कता डोर्याउँछ ? त्यो भने हेर्न बाँकी नै छ ।
