काठमाडौँ – भारतको ओडिशाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट नेपाली विद्यार्थीहरु फर्किने क्रम जारी रहेको छ ।
बिहिबारसम्म बीरगन्ज नाकाबाट १५६ जना र विराटनगरको रानी नाकाबाट ८३ जना स्वदेश फर्किएका छन् । पर्सा प्रहरीका अनुसार बिहीबार बिहान १० बजेसम्म वीरगन्ज नाका हुँदै १५६ जना नेपाली विद्यार्थी घर फर्किएका छन् । उनीहरु भुवनेश्वरबाट रेल र सडकमार्ग हुँदै वीरगन्ज आइपुगेका थिए ।
नेपाल फर्किनेमा २७ छात्रा र १२९ जना छात्र रहेका छन् । वीरगन्ज नाका हुँदै नेपाल आइपुगेका विद्यार्थी पर्सा, बारा र रौतहट जिल्लाका रहेका छन् । वीरगन्ज नाका हुँदै आइपुगेका उनीहरूलाई प्रहरी, वीरगन्ज महानगरपालिका र साउथजोन माविले गाडी व्यवस्थापन गरेर घर पठाएको थियो ।
किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार शंकास्पद मृत्यु भएपछि घटनाको न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गर्दै होस्टेलबाट जबर्जस्ती निकालेको थियो । कलेजबाट भागेर कष्टपूर्ण यात्रा गर्दै नेपाल फर्किएको विद्यार्थीले बताएका छन् ।
यस्तै, विराटनगरको रानी नाका हुँदै केआईआईटीमा अध्ययनरत ८३ जना विद्यार्थी नेपाल फर्किसकेका छन्। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रानी नाका भएर नेपाली विद्यार्थीहरू मंगलबारदेखि नै घर फर्किन थालेको जानकारी दिए । बिहीबार बिहानसम्ममा ८३ जना फर्किएको जानकारी यादवले बताएका छन् ।
विद्यार्थीहरूले आफूहरूलाई कुटपिट गरेर निकालिएका कारण असुरक्षित महसुस भएर घर फर्किएको बताएका छन् ।
उनका अनुसार रानी नाकाबाट आएकामध्ये सबैभन्दा बढी मोरङका ४१ जना छन् । सुनसरीका १५, सप्तरीका १४, सिरहा र काठमाडौंका ३–३, सर्लाही र धनुषाका २–२ तथा ललितपुर, उदयपुर र झापाका १–१ जना रहेका छन् ।
घटनापछि विश्वविद्यालयले विद्यार्थीमाथि गरेको गलत व्यवहारको नेपाल र भारतमा आलोचना एवं विरोध भइरहेको छ । उक्त विश्वविद्यालयमा १५ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
