• Sunday 1st of November 2026

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अव्यवस्थाले देशको अवस्था जटिल बन्दै गएको बताएका हुन्।

बाबुरामले सत्तारूढ तथा प्रतिपक्षी दलभित्र चर्किँदै गएको अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीजस्ता राज्यका संस्थामा देखिएको अस्तव्यस्तता तथा अर्थतन्त्रको निरन्तर कमजोर अवस्थालाई मुलुक संकटतर्फ धकेल्ने प्रमुख कारणका रूपमा औँल्याएका छन्।

त्यस्तै, प्राकृतिक विपतको बढ्दो जोखिम, रोजगारी तथा अवसरको खोजीमा युवाहरूको विदेश पलायन र सञ्चार क्षेत्रसहित नागरिक तहमा बढ्दै गएको निराशाले पनि राष्ट्रिय परिस्थिति थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

भट्टराईले देशमा विद्यमान समस्याहरूले गम्भीर संकटको संकेत गरिरहेको उल्लेख गर्दै अब मुलुकले थप अस्थिरता र राजनीतिक उथलपुथल धान्न नसक्ने चेतावनी दिएका छन्। उनले सबै राजनीतिक दल, राज्यका निकाय र नागरिकलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन। सबै आ–आफ्नो क्षेत्रबाट गम्भीर बनौँ। सक्छौँ, सकारात्मक योगदान गरौँ। सक्दैनौँ, नकारात्मक काम नगरौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

भट्टराईको अभिव्यक्तिले मुलुकको वर्तमान राजनीतिक, आर्थिक तथा संस्थागत अवस्थाप्रति देखिएको चिन्तालाई पुन: सतहमा ल्याएको छ। केही दिनअघि उनले वर्तमान सरकारलाई पाँच वर्षसम्म चल्न दिनुपर्ने भन्दै विपक्षी एमाले र नेकपाले गर्ने भनेको सडक आन्दोलनको विरोध गरेका थिए । तर पछिल्लो समय सरकारमै रहेकाहरूको गतिविधिले नै अवस्था बिग्रँदै गएको उनले महसुस गर्न थालेका छन् । 

त्यसमा पनि पछिल्लो समय फ्रि तिब्बत मुभमेन्ट तीव्र गतिमा अघि बढेको छ । फ्रि तिब्बत मुभमेन्ट अहिले अमेरिका र भारतबाट एक साथ सुरु भएको देखिएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖