• Sunday 1st of November 2026

धेरै नरिसाउनुस् बाबुरामजी, ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ : प्रकाशचन्द्र लोहनी


  • धनकुटा खबर
  • .

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाएका छन्। नेपाल देश भट्टराइको विर्ता नभएको समेत लोहनीले टीप्पणी गरेका छन्।

‘के यो देश तपाईको विर्ता हो? अथवा तपाईंमा अझ पनि स्टालिनवादको रन्को बाँकी छ? अरू सबै बेठिक र म मात्रै जान्ने र सत्यको अन्तिम हकदार भन्ने चिन्तन विस्तारै फासिस्ट कित्तामा पुग्छ, यस्तो यात्रामा नलाग्नुस्,’ वरिष्ठ राजनीतिज्ञ डा. लोहनीले सामाजिक सञ्जालमा भनेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो वक्तव्यमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको उन्नति र समृद्धीका लागि सहयोग गर्न देशबासीलाई आह्वान गरेपछि पूर्वप्रधानमन्त्री भट्टराइले पूर्वराजाले सीमा नाघेको र कारबाही गर्नुपर्ने मत सार्वजनिक गरेका थिए।

भट्टराईको सो भनाइप्रति कटाक्ष गर्दै डा. लोहनीले प्रत्युत्तर दिएका हुन्। ‘मित्र बाबुराम भट्टराईजी, राजा ज्ञानेन्द्रले अब म अगाडि बढ्छु भन्दा तपाईंलाई धेरै रिस उठेछ। तपाईं धेरै नरिसाउनुस् मित्रको ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ,’ लोहनीले भनेका छन्।

‘तपाईंले राजनीति गर्न हुने र राजा ज्ञानेन्द्रले देशको दुर्दशा अब हेरेर बस्न सकिँदैन, म अगाडि आउँछु सहयोग गर्नुस् भन्न नपाइने?,’ लोहनीको तर्क छ।

राप्रपाका पूर्वअध्यक्ष लोहनीले भट्टराईलाई नयाँ पार्टीका लागि शुभकामना समेत दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖