काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार अब पार्टीले संसदीय दलको बैठक राखेर प्रक्रिया अघि बढाउनेछ ।
पार्टी प्रवक्ता जगदिश खरेलले पनि अब न्यायपालिकाको पुनःसंरचना आवश्यक भएकाले न्याय निरुपणका सन्दर्भमा संसद्मार्फत् नै निकास निकाल्ने निर्णय भएको बताए ।
पत्रकारले उनलाई ‘महाभियोग’ मै अघि बढ्न लाग्नुभएको हो भनी सोधेको प्रश्नमा उनले भने– न्यायपालिका पुनःसंरचना आवश्यक भएकाले यसको छिनोफानो गर्ने निकाय संसद् नै हो । संसद्मार्फत् यो कुरा अघि बढाउने निर्णय भएको छ ।”
उनले पछिल्ला दिनमा मिडिया र सामाजिक सञ्जालमा न्यायाधीशका विषयमा जसरी विषयहरु सार्वजनिक भएका छन् त्यसलाई गम्भीरतापूर्वक लिएर अघि बढ्न लागेको बताए ।
न्यायाधीश हरि फुयाँलले विचौलिया इनम सापकोटासँग गरेको ह्वाट्सएप कुराकानी सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर सभापति रवि लामिछानेले पनि यसअघि सांसदहरुसँग छलफल गरेका थिए ।
