• Tuesday 6th of October 2026

कुवेतमा साहुले दिएको यातना यसरी सुनाइन् गीताले


  • धनकुटा खबर
  • .

दोहाः चितवनकी गीताकुमारी श्रेष्ठ करिब डेढ वर्षदेखि घरेलु कामदारका रूपमा कुवेतमा कार्यरत थिइन् । ६ महिनासम्म राम्रैसँग जिन्दगी चल्दै थियो । तर, एक वर्षदेखि गीतालाई कुवेती घर मालिकले विभिन्न शारीरिक तथा मानसिक यातना दिन थाले ।

मालिकको यातना सहन नसकेर हारगुहार गरेपछि गीतालाई केही दिनअघि मात्र उद्धार गरेर नेपाल ल्याइएको छ । कुवेतमा साहुको यातनामा रहेकी गीतालाई तीन दिनभित्र उद्धार गरी सकुशल नेपाल फर्काइएको केन्द्रीय आरएटी संयोजक साजन शर्मा (प्रदीप)ले जानकारी दिए ।

नेपाल आइपुगेकी गीताले आफूलाई कुवेती घर मालिकले ६ महिनासम्म राम्रै तरिकाले काम गर्न दिएको र त्यसपछि विभिन्न शारीरिक तथा मानसिक यातना दिएर बन्दी बनाएर राखेको बताइन् । समयमा खान नदिने, घर मालिकका छोरीहरू आएर यो भएन त्यो भएन भनेर तनाव दिन थालेपछि आफू विछिप्त भएको उनले सुनाइन् ।

छोरीहरूको तनाव र साहुनीले पनि कुटपिट गर्न थालेपछि टाउको दुख्ने, रिंगटा लाग्ने गर्दागर्दै आफू बिरामी परेको र बिरामी हुँदा पनि औषधि उपचार गर्नुको साटो उल्टै थर्काएर काममा लगाउने गरेको गीताले दुःखेसो पोखिन् ।

आफू बिरामी परेको देखेर अर्को साथीले ‘उनी बिरामी छिन्, यस्तो अवस्थामा काम गर्न सक्दिनन्, औषधि उपचार गर्नुपर्छ’ भन्दा त्यस साथीलाई पनि साहुले गालीगलौज गरेर थर्काएको उनले बताइन् । बिरामी भएपछि घर पठाइदिनु भन्दा कुटपिट गर्दै साहुले काममा लगाएको गीताले बताइन् ।

आफूलाई नेपाल फर्किन पाउँदिन जस्तो लागेको भन्दै उद्धारमा सहयोग गर्ने आरएटी टिमलाई धन्यबाद दिँदै गीताले घरेलु कामदारका रूपमा विदेश नजान र विदेश जानैपरे बुझेर कम्पनीमा मात्र जान सबैलाई अनुरोध गरेकी छन् ।

केन्द्रीय आरएटी संयोजक साजन शर्माले भने गीता विगत चार महिनादेखि बिरामी भई नेपाल फर्किन खोज्दा साहूले आउन नदिएको र कुटपिट गरेर जबरजस्ती काम गर्न लगाएको गुनासो आउनेबित्तिकै आवश्यक कदम चालेर तीन दिनभित्र कुवेतमा समन्वय गरी नेपाल ल्याउन सफल भएको बताए ।

आगामी दिनमा विदेश जाने भए बुझेर मात्र जान पनि सुझाव दिएको शर्माले बताए । आरएटी भन्नेबित्तिकै हरेक अप्ठ्यारोमा परेका नेपालीको अन्तरमनबाट आउने पहिलो शब्द बनाउने पूर्ण प्रयास गर्ने र यसका लागि आफूहरूको टिम दिनरात नभनी खटिरहेको शर्माको भनाइ थियो ।

कुवेतमा मकवानपुर हेटौंडाकी कविता तामाङ र भोजपुरकी रविना लामा पनि नर्कको जीवन बिताइरहेका छन् । उनीहरू दुवै जना उद्धारको पर्खाइमा रहेका छन् । उनीहरूले पनि आफूहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउन अपिल गरिरहेका छन् ।

आरएटीले केही दिनअघि मात्र साउदी अरबमा विगत तीन महिनादेखि अलपत्र परेका ३६ जना नेपालीमध्ये पहिलो चरणमा १८ जना नेपालीलाई सकुशल स्वदेश फर्काएको थियो भने बाँकी १८ जनालाई अर्को चरणमा ल्याउने जनाएको छ ।

यी त वैदेशिक रोजगारीको क्षेत्रमा महिलामाथि हुने गरेका हिंसाका प्रतिनिधि घटना मात्रै हुन् । मीठो खाने, राम्रो लगाउने र जीवनस्तर उकास्ने हजारौं सपना बोकेर महिलाहरू दलालको फन्दामा पर्ने गर्छन् । अर्कोतिर सरकारको फितलो नीति र प्रभावकारी कार्यान्वयन नहुँदा महिलाहरू हिंसाको सिकार बन्दै आएका छन् ।

दलालले पछिल्लो समय भारतको बाटो हुुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्नेहरू रहेका छन् । उनीहरूले आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने भन्ने स्थान’बाट पनि जानकारी नहुँदा उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।

समस्यामा परे कहाँ सम्पर्क गर्ने ?

स्वदेशमा मात्रै होइन, विदेशमा आपत्विपद् परेका नेपाली महिलाको सहयोगार्थ थुप्रै संस्था स्थापना भएका छन् । आपतविपद्मा पर्ने महिलाहरूले आफू कार्यरत रहेको मुलुकमा रहेको राजदूतावास, विदेशस्थित कूटनीतिक नियोग, एनआरएनए, विदेशमा रहेका नेपाली संघसंस्था, नेपाली कामदार तथा स्वदेशमा वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड, माइती नेपाललगायतका ठाउँहरूमा सम्पर्क गरेर सहयोग माग्न सक्नेछन् ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖