• Wednesday 7th of October 2026

माओवादीसँग पार्टी एकतासम्बन्धी वार्ताको औचित्य सकियो : बाबुराम भट्टराई


  • धनकुटा खबर
  • .

नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका विषयमा वार्ताको औचित्य सकिएको निर्णय गरेको छ । असोज १५ देखि १७ गतेसम्म बसेको नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो।​

नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त कुरा लेखिएको छ । ‘नौ–बुँदे पार्टी एकताका आधारसम्बन्धी प्रस्तावमाथि नेकपा माओवादी केन्द्रले छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ । हालै माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रुपान्तरणसहितको समाजवादी ध्रवीकरणभन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ । यो स्थितिमा हामीले प्रस्तुत गरेको ९– बुँदे समष्टीगत प्रस्ताव बारे माओवादीको औपचारिक धारणा नआएसम्म माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रष्ट पार्न चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा पार्टी आफ्नो संगठन र जनआधार निर्माण र विस्तारमा केन्द्रित रहँदै जनसरोकारका राष्ट्रिय मुद्दाहरूमा विभिन्न पार्टी र समूहहरूसँग सहकार्य, कार्यगत एकता गर्ने र विचार, नीति, कार्यक्रम मिल्ने शक्तिहरूसँग भरपर्दो अग्रगामी वैकल्पिक शक्ति निर्माणका निम्ति संयुक्त मोर्चा र ध्रुवीकरणका लागि पनि निरन्तर प्रयत्न गर्ने जनाएको छ ।

पार्टीको प्रथम महाधिवेशन आगामी वैशाख महिनामा भव्यताका साथ सम्पन्न गर्ने र त्यसको तयारीका लागि आगामी मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ ।

त्यस अघि विधान अधिवेशनका लागि पार्टीको विधान मस्यौदा गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा अधिवक्ता कृष्ण शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖