• Thursday 29th of October 2026

लाकुरी भञ्ज्याङको टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड, तर सचिवालय भन्छ– घरमै हो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार राति आफ्नो घरमा नभएर ललितपुरको लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा सुतेको खुलेको छ । त्यही रिसोर्टभित्र लडेपछि उनलाई अस्पताल दौडाइएको स्रोतले बतायो ।

प्रचण्ड हिजो आफ्ना परिवार र आफन्तसहित एउटा वैवाहिक कार्यक्रमका लागि उक्त रिसोर्ट गएका थिए । त्यही रिसोर्टमा उनले रात बिताएका हुन् । उनी मध्यरात लडेपछि तुरुन्तै मेडिसिटी अस्पताल ल्याइएको स्रोतले बतायो । प्रचण्डको टाउकोमा टाँका लगाइएको छ ।

छोरीज्वाइहरुसहित गएका प्रचण्डले राति मदिरासहित रमझम गरेका थिए । उनी बिहान नहुँदै बाथरुममा लडेको बताइए पनि विस्तृत विवरण आएको छैन ।

अस्पतालमा उपचारपश्चात प्रचण्डलाई खुमलटार लगिएको थियो । उनी अहिले घरमै आराम गरिरहेका छन् । आज सुदुरपश्चिमका सांसदहरुले भेट्ने काम रद्द गरिएको छ ।

प्रचण्की छोरी गंगा दाहालले बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै बुवा बाथरुममा लडेको जानकारी गराएकी थिइन् । उनले ठाउँ खुलाएकी छैनन् । प्रचण्डको निधारको बाहिरी भागमा सामान्य चोट लागेको उनले बताएकी छन् ।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने घरमै लडेको दावी गरेका छन् । उनले नेपाल प्रेससँग भने, ‘घरमै भएको घटना हो । बाहिर चलेको हल्लाबारे थाहा भएन ।’

टेरेस रिसोर्ट काठमाडौंको महँगो र विलासी रिसार्टमा पर्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव अगाडि यही रिसोर्टमा बसेर घोषणापत्र लेखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖