• Wednesday 28th of October 2026

जेठ मसान्तभित्र एकता प्रक्रिया टुङ्ग्याउने गरी माओवादी र नेसपाबिच सहमति !


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबिच जेठ मसान्तभित्र एकता प्रक्रियालाई टुङ्ग्याउने गरी सहमति भएको छ । शुक्रबार माओवादीका अध्यक्ष प्रचण्ड र यादवबिच खुमलटारमा आधा घण्टा लामो कुराकानी भएको स्रोतको दाबी छ ।

नेसपाको शनिबार शंखमुलमा बसेको कार्यकारिणी बैठकले पनि जेठ मसान्तभित्र एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउने निर्णय गरेको स्रोतले बतायो । यद्यपि माओवादीको फुर्को हटाउने विषयमा प्रचण्ड र यादवबिच कुरा मिलिसकेको छैन ।

पूर्वदेखि पश्चिम तराईलाई पार्टीमा एकताबद्ध बनाउनका लागि महाधिवेशनअघि नै माओवादी हटाउनुपर्ने मत राखेको बुझिएको छ । प्रचण्डले पार्टी एकताका लागि १४ महिना अगाडि नै सहमति भइसकेकाले अब सबै कुरा महाधिवेशनबाट नै टुङ्ग्याएर जाने प्रस्ताव गरेका थिए ।

‘जेठ मसान्तसम्म पार्टी एकता टुङ्ग्याउने गरी माओवादी केन्द्र र नेसपाबिच सहमति भएको छ । नेसपाले पनि पार्टी एकताको प्रस्ताव अगाडि बढाउने निर्णय गरिसकेको छ’, रातोपाटीसँग स्रोतले भन्यो’, ‘यसै विषयलाई मध्यनजर गरी शुक्रबार शीर्ष नेताबिच छलफल भएको हो । महिन्द्रजीले माओवादीको फुर्को नहटाई एकता गर्दा माओवादीका बाहेकका साथीहरू एकता प्रक्रियामा जोडिन समस्या हुन्छ । त्यसैले कि त पहिले नाम परिवर्तन गरेर महाधिवेशनमा छलफल गरौँ कि त एकता महाधिवेशन हुनेगरी त्यतिबेलै छलफल गरौँ भनेर कुरा राख्नुभयो ।’

भेटवार्तामा प्रचण्डले यादवको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै माओवादीको फुर्को अहिले हटाउन नसक्ने भएकाले पहिला पार्टी एकता गरेर नामबारे महाधिवेशनमा छलफल गरौँ भन्ने प्रस्ताव राखेको बुझिएको छ । ‘तपाईंको प्रस्ताव ठिक छ । हामीले पहाडलाई मात्र होइन सिङ्गो मधेसलाई एकता प्रक्रियामा जोड्न खोजेका हौँ । वामपन्थी राजनीतिमा तपाईं लामो समयदेखि लाग्नु भएको मधेसको स्थापित नेता हुनुहुन्छ । हामीले पहिल्यै एकता गर्ने निर्णय गरिसकेका छौँ । पार्टीको महाधिवेशन पनि आउन लागेको छ । नाम परिवर्तन केन्द्रीय समितिले गर्ने विषय होइन । अहिले पार्टी एकता गरौँ । महाधिवेशनमा गएर छलफल गरौँला भन्नुभयो’, एक नेताले भने ।

२०८० साल चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा नेसपाका अर्का अध्यक्ष बाबुराम भट्टराईलाई बाइपास गरी यादव समूहले पार्टी एकता गर्ने निर्णयमा हस्ताक्षर गरेपछि पार्टी विभाजन भएको थियो । विभाजन पश्चात् पुनर्गठित नेसपामा माओवादी पृष्ठभूमि र जसपा पृष्ठभूमिका आधा आधा समेटेर केन्द्रीय समिति र कार्यकारिणी समिति गठन गरेको छ । २६ सदस्यीय कार्यकारिणी समितिमा माओवादी र जसपा पृष्ठभूमिका १३/१३ सदस्य रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖