• Wednesday 28th of October 2026

नेपालमा लुकेर बसेका खालिस्तानी आतङ्ककारी बलवीर सिंह पक्राउ, भारत लगियो


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) ले खालिस्तानी आतङ्ककारी बलवीर सिंह उर्फ कश्मीर सिंह गलबड्डीलाई नेपालबाट पक्राउ गरेको छ। विगत केही वर्षदेखि नेपालका विभिन्न शहरहरूमा कपडा व्यवसायीको भेषमा लुकेर बसेका बलवीर सिंहलाई शनिबार पक्राउ गरी भारत लगिएको हो।

सिंह भारतमा प्रतिबन्धित आतङ्ककारी संगठन बब्बर खालसा इन्टरनेशनल (BKI) सँग आबद्ध रहँदै आएको र उनीमाथि भारतको पंजाबस्थित नाभा जेलबाट २०१६ मा फरार भएका गम्भीर आरोप छन्। त्यही घटनापछि उनी नेपालमा बसेर आतङ्ककारी सञ्जाल सशक्त बनाउने योजनामा संलग्न रहेको अनुसन्धानमा खुलेको हो।

एनआईएका अनुसन्धानअनुसार बलवीर सिंहको नाममा नेपालका विभिन्न बैंकहरूमा ६ वटा खाता छन्, जसमा क्यानाडा लगायत तेस्रो मुलुकबाट करोडौं रुपैयाँ जम्मा गरिएको छ। ती रकमहरू भारतमा विभिन्न आतङ्ककारी गतिविधि सञ्चालन गर्न प्रयोग गरिएको पुष्टि भएको बताइएको छ।

बलवीर सिंहले सन् २०२१ मा पंजाब प्रहरीको इन्टिलिजेन्स मुख्यालयमा भएको आतङ्कवादी हमलाको योजना बनाएको अनुसन्धानकर्ताहरूको भनाइ छ। यही कारण उनलाई एनआईएले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो र उनलाई पक्राउ गर्न १० लाख भारतीय रुपैयाँ इनामसमेत तोकिएको थियो।

उनको पक्राउपछिको सार्वजनिक जानकारी अनुसार, सिंहलाई बिहारको पूर्वी चम्पारण अन्तर्गत मोतिहारीमा देखाइएको छ, जहाँबाट उनलाई भारतको सुरक्षा निकायले नियन्त्रणमा लिएको हो।

नेपालमा लामो समयदेखि विदेशी आतङ्ककारी समूहहरूले शरण लिइरहेको तथ्य पुनः उजागर भएको यस घटनाले नेपाली सुरक्षा संयन्त्रका लागि गम्भीर प्रश्न खडा गरेको छ। नेपाल सरकार र सुरक्षा एजेन्सीले यसबारे औपचारिक धारणा सार्वजनिक गरिनसकेको भए पनि भारतमा यस घटनालाई ‘प्रमुख सफलता’को रूपमा लिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖