• Wednesday 28th of October 2026

बालुवाटारको भित्री ढोकैमा ओली–माधव मिलाप


  • धनकुटा खबर
  • .

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग राखी बाँधेर चर्चामा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले अघिल्लो हप्ता नेपाली राजनीतिमा तरंग ल्याउने गरी श्रृंखलाबद्ध भेटघाट चलाए । खासमा विदेशमन्त्री एस जयशंकरको दूतका रूपमा उनी आउँदा यत्ति तरंग नआउनुपर्ने हो किनकि त्यो औपचारिक भ्रमण थिएन ।

चौथाइवाले यसअघि पनि आउँथे र शीर्ष नेतालाई भेट्थे । तर, ओली प्रधानमन्त्री भएको १० महिनामा पनि भारतसँगको सम्बन्ध सौहाद्र्र बन्न नसकिरहेका बेला चौथाइवाले आइदिए । उनी नेपालको नाडी छाम्न आएका हुन् । भारत अहिलेको सरकारसँग खुशी छैन । थाइल्याण्डमा ओली–मोदी भेट भए पनि अझै ढुक्क हुन सकेको देखिएन । तीनवटै दलका नेतामाथि राजनीतिबाटै विश्राम लिन अत्यधिक दबाब आइरहेका बेला चौथाइवालेले दोस्रो रोजाइका नेतासँग एक–एक गरी भेटे । अनि शीर्ष नेतृत्वप्रतिको खस्कँदो क्रेज र पार्टीभित्र बढिरहेको आन्तरिक दबाबबारे मसिनो गरी कुरा बुझे ।

एमालेबाट अध्यक्षका अलावा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री डा. आरजु राणा, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, पूर्वपरराष्ट्रमन्त्री एनपी साउदसम्मलाई भेटे । देउवाद्वारा भारतसँग विशेष सम्बन्ध बनाउन तयार गरिएका नेता उदयसमशेर राणाबाट पनि पर्याप्त रिपोर्टिङ लिए । चौथाइवालेले प्रचण्डका दुई हात वर्षमान पुन र जनार्दन शर्मासँग त छुट्टाछुट्टै भेट गरे । रास्वपा उपसभापति डोलप्रसाद अर्याल, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुरलाई छुटाएनन् । तर, कतैबाट पनि ओली सरकारप्रति भित्री रूपले भरोसाका शब्द नभेटी फर्किएको बताइन्छ ।

‘कांग्रेसभित्रको शेखर पक्ष ओलीको पूरै विरुद्धमा छ । देउवा पक्षका कतिपय नेता नबोली बसेका छन् । गगनको कटाक्ष दिनदिनै बढ्दो छ’ स्रोतले भन्यो, ‘प्राविधिक हिसाबले सभापति देउवाको ओलीसँग पुलको काम गर्नुपरेका कारण लेखकले बोल्न नसकेका हुन् तर ओलीबाट उनी पनि हायलकायल छन् ।’ एआइजी र प्रहरीका अन्य बढुवा–सरुवामा ओलीले ज्यादा नै चासो लिने गरेको उनको गुनासो छ । भारतमा गाइँगुइँ सुने पनि नेपाली नेताकै मुखबाट सरकार घिसिपिटी तालमा चलेको प्रष्टै सन्देश चौथाइवालेले पाएको बुझिएको छ ।

चौथाइवालेलाई स्वागत गर्नुअघि एकीकृत समाजवादीका नेताहरूसँगको भेटमै ओलीले आफू थाकिसकेको अभिव्यक्ति दिएका थिए । कुनै समय माधवको नाम लिए कुल्ला गर्नुपर्छ भन्ने ओली समाजवादीका नेता पुग्दा ‘आफन्त भेटेको’ भन्दै खुशी भए ।

‘हामी आर्थिक–सामाजिकसहित क्षेत्रको सुधारका लागि ज्ञापनपत्र लिएर भेट्न गएका थियौं, ओली हाँस्दै प्रवेश गर्नुभयो, सबैसँग सिटमै गएर हात मिलाउनुभयो, माधव नेपाललाई झन् सौहाद्र्रता देखाएर स्वागत गर्नुभयो,’ उक्त टोलीमा संलग्न एक नेताको भनाइ छ, ‘फेरो मारेर हात मिलाउँदै आएपछि आज एकदम स्माइलिङ फेस देख्छु नि, कुरा के हो भनेर हाम्रा उपाध्यक्ष राजेन्द्र पाण्डेले सोध्दा जवाफमा ओलीले आफन्तहरू भेट हुँदा किन स्माइली नहुनु त भन्नुभयो, अनि हलमा हाँसोको फोहोरा छुट्यो ।’

लामो समय एउटै झण्डामुनि बसे पनि यसअघि कैयौंपटक तिनै नेताले ओलीबाट अपमानपूर्ण गालीका वर्षाको सामना गरेका थिए । यसैले ज्ञापनपत्र बुझाएर हिँड्ने तरखर गर्दा ओली आफैं अनेक व्याख्या गर्दै तिनलाई केहीबेर रोक्ने मुडमा प्रस्तुत हुनुभयो ।

‘ज्ञापनपत्र दिएर हिँड्ने मुडमा थियौं, थप सोधखोज गर्ने पक्षमा थिएनौं, शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी र सुशासनको सवालमा बजेटमार्फत यी काम गर्दा राम्रो हुन्छ भनेर कुरा राख्ने र हिँडिहाल्ने मानसिकतामा थियौं,’ एक नेताले भने, ‘तर ओलीले गुनासो गर्न थाल्नुभयो– कर्मचारीतन्त्र पूरै भ्रष्ट छ । यिनीहरूको भरमा छोड्दा देश डुब्ने भयो । अवस्था भयावह छ । उत्साहपूर्ण ढंगले काम अगाडि बढाउन सक्ने अवस्था छैन । राजस्व उठ्दैन ।’

ओलीको गुनासो सुनेपछि एक जना नेताले बूढीगण्डकी आयोजना अब नबनाउने ? भनेको स्रोत बताउँछ । सरकार यो आयोजनाको विरोधी हो भनेर माघ १८ गते संसद्मा प्रश्न उठिसकेको प्रसंग कोट्याउँदा ओलीले ‘खै के गरी बनाउने, पैसा–सैसा छैन,’ भन्नुभएको थियो ।

‘अहिले १४ खर्ब राजश्व उठेको छ, साँच्चै लागे २४ खर्ब उठ्न सक्छ । एक करोडको माललाई २० लाखको मूल्य राखेर ल्याउँछन् । कम भ्यालुएसन गर्छन् । यस्तोमा एक करोडकै भन्सार आउने हो भने बढी पैसा उठ्थ्यो । हामी गरिब होइन । स्रोतले मज्जासँग धान्छ,’ राजेन्द्र पाण्डेले सुुझाउँदै भनेका थिए, ‘कसैसँग हात थाप्न पर्दैन । बोर्डरमा समस्या छन् भने यसलाई कन्ट्रोल गर्न किन सक्नुहुन्न ? सशस्त्र प्रहरी र चुहावट गराउने कर्मचारीलाई इमान्दार बनाए स्रोतको अभाव हुन्न ।’ हिजो सँगै काम गरेका नेताहरूले व्यावहारिक सुझाव दिइरहँदा ओलीले चुपचाप सुनिरहेको स्रोत बताउँछ ।

बालुवाटार स्रोतका अनुसार अरु नेता हिँडेपछि ओलीले फरक व्यवहार देखाउनुभयो । ‘उठेर हलको मुख्य ढोकासम्म पुर्‍याउन आउनुभयो,’ स्रोत भन्छ, ‘गठबन्धनका कारण धक फुकाएर काम गर्न नसकेको, सबैभन्दा ठूलो पार्टी कांग्रेसभित्रैबाट बढ्दो दबाबका बीच उहाँलाई हिजो नाम लिँदा पनि कुल्ला गर्नुपर्छ भन्नेहरू आफन्त लाग्न थालेका छन् । अरू नेताप्रति पनि यसरी नै नरम बन्दै गए अनौठो नमान्दा हुन्छ ।’ अरु हिँडेपछि पाण्डे र जगन्नाथ खतिवडाले मुग्लिनको वैकल्पिक बाटोको रूपमा धार्केबाट चितवन, गैंडाकोटसम्म पारीपारी समानान्तर रोड बनाउनुपर्ने विषय उठाएको उनीहरुको भनाइ थियो ।

‘अहिले दैनिक २५ हजार गाडी गुड्छ । अबको १० वर्षमा ४० हजार गाडी गुड्छन्, बेलैमा सोचौँ’ पछिसम्मको अवस्था बुझेर स्रोतले भन्यो, ‘उहाँले कुरा ठीक हो भन्नुभयो तर यो काम गर्न सक्छु, गरेर देखाउँछु भन्ने अवस्थामा देखिनुभएन । यहीबीच आएको नीति तथा कार्यक्रममा पनि ठोस नयाँ केही छैन । पुरानो दस्ताबेजमा भाषा मिलाएर नयाँ ल्याएको मात्रै हो । उत्साह र आशाका न कार्यक्रम छन् । न नीति छन् ।’ -जन आस्था

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖