• Wednesday 28th of October 2026

बाबुरामलाई प्रचण्डले ‘बुद्धि नभएको डाक्टर’ भनेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुद्धि नभएको डाक्टरको संज्ञा दिएका छन्। अभियानको क्रममा रुकुम पूर्व पुगेका प्रचण्डले पत्रकारहरुले बाबुरामसँग एकताबारे प्रश्न गर्दा यस्तो टिप्पणी गरेका हुन्।

बाबुरामले कम्युनिष्ट नाम सुन्नै नचाहेको उल्लेख गर्दै उनीसँग अब एकता नहुने स्पष्ट पारेका छन्। उनले भने,‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?’

०७९ को निर्वाचनमा आफू गोरखाबाट चुनाव लड्नुअघि नै पार्टी एकता गर्ने भनिएको भएपनि बाबुरामले कम्युनिष्टको नाम नै सुन्न नचाहेकोले एकता नभएको दाहालको जिकिर छ।

उनले थपे,‍‘गोरखाबाट लड्दा यो चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँ पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन, कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने, बाबुरामका लागि मर्ने? कम्युनिस्ट पार्टी नभन्ने, माक्र्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने? खिइँदाखिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर।’

प्रचण्डले थपे, ‘यो एकता होइन त? अब बाबुरामलाई के गरी ल्याउने अब ? उनको दिमाग चाहिँ ठाउँमा हुन पर्‍यो र पो ल्याउन सकिन्छ। सबै एकता भनेर निरपेक्ष एकता भन्ने हुँदैन । त्यो सापेक्ष हुन्छ ।’

उनले पार्टी एकताको लागि विचार, दृष्टिकोण, प्रवृत्ति मिल्नुपर्ने भन्दै बाबुरामसँग एकता गरेर फेरि ठूलो भइहाल्ने पनि नभएको सुनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖