• Wednesday 28th of October 2026

जेठ १५ गते एमाले र राजावादी एक–आपसमा भिड्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ – जेठ १५ गते एमाले र राजावादी एकआपसमा भिड्ने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेज लगाइदिने भन्दै घोषणा गरेको आन्दोलनलाई विथोल्न नेकपा एमालेले शक्ति प्रदर्शन गर्ने भएपछि दुई छुट्टा छुट्टै शक्ति भिड्ने भएका हुन् ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार नेकपा एमाले सबै पार्टी कमिटीलाई प्रतिकारमा उत्रिन निर्देशन दिएको छ । यसका लागि एमालेले नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको छ ।

जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको बैठकमा महासचिव शंकर पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँडको जानकारी गराएका हुन् । महासचिव पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रमहरू चिर्नका जनप्रदर्शनको तयारी गरिएको हो ।

पोखरेलका अनुसार काठमाडौँ जिल्लाबाट व्यापक मात्रामा जनमानस परिचालन गर्न लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउनेछन् ।

एमालेमा ठुलो जनधार भएको संगठनको रूपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरूलाई दिइएको छ । जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट र बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ । लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ । यस्तै कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ भने मधेस प्रदेशका आठ वटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

उपत्यकाका जनप्रदर्शनमा ठुलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ । स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ । सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्वकर्माले पाएका छन् ।

गणतन्त्र दिवसका दिन ज्येष्ठ १५ गते बिहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी, जनसंगठनको पहिचान सहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ । हिजोको सचिवालय बैठकले ज्येष्ठ १५ गते काठमाडौँ सहित सबै पालिकाहरूमा गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

यस्तै प्रदेश कमिटी र जिल्ला कमिटीले आ–आफ्नो तहका संघ–संस्थाहरुलाई गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्न प्रेरित गर्नेगरी सर्कुलर भएको छ । त्यस्ता कार्यक्रमहरुमा जनसहभागिताका लागि सहजीकरण गर्न पनि सर्कुलरमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖