• Wednesday 28th of October 2026

गृहमन्त्री रमेश लेखक दोषी हो भनेर म भनिराखेको छैन, मोरल ग्राउण्डमा उहाँले राजीनामा दिनुपर्दथ्यो भनेको हुँ : डा. शेखर कोइराला


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आफ्नो मत यथावत रहेको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कबाट आज (बिहीबार) प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको विषयमा आफूलाई पार्टीले स्पष्टीकरण सोध्नेबारे कोइरालाले भने,‘ठीक छ नि, सोधे हुन्छ । पार्टीभित्र आफ्नो ओपिनिएन राख्ने हो । फरक विचार त छ नि पार्टीभित्र, तर नेपाली कांग्रेसले एउटा निर्णय गरेपछि त्यो मानेपछि वा नमानेपछि स्पष्टीकरण सोध्ने हो । तपाईंहरु यो विषयमा किन समय खेर फाल्नुहुन्छ ऋषिजी ?’ राजनीति नैतिकताको आधारमा गरिनुपर्ने उनको जोड छ ।

उनले भने,‘म अहिले राजनीतिज्ञहरुको कुरा गर्दिनँ, अहिले म लालबहादुर शास्त्रीको कुरा सम्झिँदैछु, त्यहाँ ट्रेन एक्सिडेन्ट भयो, तर उहाँले राजीनामा दिनुभयो । त्यो एक्सिडेन्ट त चालकले गरेको हो नि । तर, उहाँले नैतिकताको आधारमा राजीनामा दिनुभयो । नेपालमा पनि भएको छ, गणेशमानजीले राजीनामा दिनुभयो । भ्रष्टाचारको आरोप लाग्यो बोराको केशमा, विपीको पालामा । पछि होईन रहेछ, दुई चार दिनपछि छानबिन भयो, सकियो । हामीहरुको अहिले नैतिक चरित्र र धरालत नै कमजोर भइसक्यो ।’

रमेश लेखकले पत्रकार सम्मेलनमार्फत ‘न्याय त मैले पाउनुपर्यो नि’ भन्ने कुरा गरेकोबारे धमलाले सोधेको प्रश्नमा नेता कोइरालाले आफूले लेखकके भनेको कुरा काट्न नखोजेको बताए । उनले लेखकलाई आफूले अत्यन्तै सम्मान गर्ने कुरा सुनाए । उनले भने,‘उहाँले भनेको कुरलाई मैले काट्न खोजेको होईन, रमेशजीलाई म अत्यन्तै सम्मान गर्ने व्यक्ति हो । नेपाली कांँग्रेसमा धेरै कम व्यक्ति रमेशजीजस्तो नैतिक चरित्र भएको मानिसहरु हुनुहुन्छ, धेरै कम । तर, त्यो केश आईसकेपछि यत्रो इस्यु बन्दथ्यो त ? यो एउटा कर्मचारीमाथिको उसमा नजाउँ हामी, कर्मचरीमात्रै होईन क्या । यो कर्मचारीमात्रैले गरेको भनेर सबैले भनिदिए त सक्किगो नि, त्यसो भए त मन्त्रीहरुलाई नीतिगत भ्रष्टाचारको यो अख्तियारमा किन ल्याउन खोजेको ? कस्तो कुरा नबुझेको ? नीतिगत भ्रष्टाचार भनेको के हो ? किन हामीले लेख्न खोज्दैछौं ऐनमा ? किन नेतृत्वले मानिरहनुभएको छैन् ? कर्मचारी त कस्ता भैसकेछन भने मुख छोपि छोपिकन नेतृत्वकहाँ जान्छन् कुलिङ पिरियड हुँदैन भनेर ।’

अमेरिका, भारत, फ्रान्सजस्ता देशमा पनि कुलिङ पिरियड राखिएको उनले स्मरण गराए । उनले गृहमन्त्री लेखकको राजीनामाको विषयमा विचार परिवर्तन गर्ने व्यक्ति नभएको सुनाए । उनले भने,‘नैतिकता भन्ने चिज हुनुपर्छ मानिसमा, रमेशजीलाई धेरै कम राजनीतिज्ञ छन्, त्यसमा रमेशजी नैतिक धरालत भएको नेतामा पर्नुहुन्छ। उहाँलाई रेस्पेक्ट गर्छु । उहाँको राजीनामा आउँछ वा आउँदैन भन्ने कुरा त्यो उहाँले सोच्ने कुरा हो, मैले भन्ने कुरा होईन । उहाँले..यत्तिका दिनसम्म त कुराहरु सल्टिसकेको हुन्थ्यो । उहाँले छोडेको भए कुरा सल्टिसकेको हुन्थ्यो । तर, गर्नुभएन । ठीकै छ, त्यसमा मलाई केही भन्नुछैन् । मलाई स्पष्टीकरण सोध्ने भए सोध ।’ आफूले यो प्रकरणमा मोरल ग्राउण्डको कुरा उठाएको पनि कोइरालाले स्पष्ट पारे ।

उनले थपे,‘मैले त रमेशजीलाई दोषी हो भनेर भनेकै छैन् । मैले अहिले पनि भन्दैछु–उहाँ दोषी हो भनेर म भनिराखेको छैन् । मोरल ग्राउण्डमा उहाँले राजीनामा दिनुपर्दथ्यो भनेको हो । त्यतिमात्र हो मेरो भनाई । अब राजीनामाको विषयमा लालबहादुर शास्त्रीको पनि उदाहरण दिएँ, अरु नेताको पनि उदाहरण दिन सक्छु । नैतिकताको कशी त इण्डिभिज्यूलमा डिपेण्ड गर्छ । म त मोरल ग्राउण्डको कुरा गर्दैछु ।’

उनले जनताले सोचेअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र डेलिभरी दिने कुरामा चुकिएको स्विकारेका छन् ।पत्रकार धमलाले गणतन्त्रको यो १७ वर्ष पूरा भएको अवसरमा नेपाली जनताले के पाए ? भन्ने प्रश्नमा उनले भने,‘नेपाली जनताले जुन हामीहरुले सोचेका थियौं त्यो चाहीँ भ्रष्टाचार नहोस, सुशासन दिउँ, डेलिभरी दिउँ, रोजगारीका अवसर सिर्जना गरौं भन्ने थियो त्यसमा हाम्रो ध्यान गएन ।’ अहिलेको व्यवस्थालाई निर्वाचन प्रणालीले अलिक धेरै बिगारिदिएको उनको मत छ ।

उनले भने,‘निर्वाचन प्रणाली नै खराब भयो, तर धेरै साथीहरुले त्यसलाई स्विकार गर्नुहुन्न, निर्वाचन प्रणाली ठिकै छ भन्नुहुन्छ । तर मलाई लाग्छ निर्वाचन प्रणाली पनि एउटा कारक हो । हामीहरु आफूलाई लोकतन्त्रवादी भन्छौं । तर, लोकतान्त्रिक मूल्य र मान्यताप्रति हामी खरो उत्रिन सकेका छैनौं । प्रधानमन्त्रीजस्तो जिम्मेवारी व्यक्ति, प्रधानमन्त्री भनेको त व्यक्तिमात्रै होईन नि, उहाँ त संस्था पनि हो । उहाँले के भन्नुभयो भने काठमाडौंलाई एमालेकरण गर, एमालेको नियन्त्रणमा लेउ भनेर भन्नुभयो । अब कुन सेन्समा भन्नुभयो त्यो म जान्दिनँ, जनताले उहाँ के गर्दै हुनुहुन्छ भनेर बुझे, मानवअधिकार आयोगले नै विज्ञप्ती निकालेर प्रधानमन्त्रीले यसरी बोल्नुहुँदैन थियो भनेर भन्यो । तर प्रधानमन्त्रीजी मानवअधिकार आयोगको वार्षिक बैठकमा नै जानुभएन । अब बहाना बनाउनुभयो, बिरामी भएँ र बिजी भएँ भन्नुभयो । मानवअधिकार जस्तो संस्थामा जानुभएन । हामीले नै लोकतान्त्रिक चरित्र देखाईरहेका छैनौं ।’ उनले अहिले दलहरुमा पनि निरंकुशता रहेको स्विकारे ।

उनले भने,‘हामीहरुको पनि मानसिकता पुरानै छ क्या, गणतन्त्र त ल्यायौं तर हामी पूरानै मानसिकताबाट हिँड्दैछौं ।’ अहिले गणतन्त्रको ठाउँमा लुटतन्त्र छ भनेर आफू त्यो हदसम्म भन्ने अवस्थामा नभएपनि जनता भने स्वभाविक रुपमा निराश रहेको कोइरालाको टिप्पणी छ । देशमा सुशासन नहुँदा जनता निराश भएको उनको दाबी छ । उनले अहिले गणतन्त्रवादीहरुले आफ्नो कमजोरी ढाकछोप गर्नको लागि राजावादीहरुलाई देखाउने गरेको र ‘राजावादी आयो’ भन्ने सोच व्याप्त रहेको भन्दै आलोचना गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖