• Wednesday 28th of October 2026

गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन् ।

बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले आफूहरूका माग पूरा नहुँदासम्म सदन चल्न नदिने बताएको जानकारी दिए । ‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ । सम्बोधन गर्ने विषय सरकारको भयो,’ पाण्डेले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने सदनको अवरोधको विषयमा औपचारिक कुराकानी नभएको बताए । ‘संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल थियो । सदनको अवरोधबारे अनौपचारिक विषयमा कुरा उठे पनि औपचारिक छलफल भएन,’ घिमिरेले भने ।

सभामुख घिमिरेले २० गतेबाट सुचारु हुने बजेटमाथिको सैद्धान्तिक छलफलमा क्यालेन्डर बनाउने विषयमा प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖