• Wednesday 28th of October 2026

हिरासतबाट छुटेपछि कमल थापालाई राति नै राप्रपा कार्यालयमा लिङ्देनको स्वागत


  • धनकुटा खबर
  • .

आइतबार नारायणचौरमा प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा कार्यसम्पादन समिति सदस्य दीपक बहादुर सिंहलाई प्रहरीले छाडेको छ।

आइतबार राति हिरासतबाट छुटेलगत्तै उनीहरूलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा स्वागत गरेका छन्।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरू राख्दै थापा र सिंहलाई लिङ्देनले स्वागत गरेको जानकारी दिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष थापा र सांसद सिंहसहित ७ जनालाई छाडिएको हो।

उनीहरू दुई जनासहित राप्रपा कार्यकर्ता शिला राणा, व्यवसायी राकेश बस्नेत, सुन व्यवसायी रामचन्द्र लामिछाने, व्यवसायी विनोद कपाली, राप्रपा युवा मोर्चा नेपालका सदस्य सरोज तिमिल्सिना र डा. राजीव झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरूले भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरीसँग धक्कामुक्का गरेको लगायतका आरोपमा प्रहरीले प्रदर्शनस्थलबाटै नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएका सात जनालाई छाडिए पनि एक जनालाई हिरासतमै राखिएको एसपी बोहराले बताए। उनका अनुसार झालाई प्रहरीले हिरासतमै राख्न लागेको हो।

उनले मादक पदार्थ सेवन गरी भीडमा अपशब्द बोलेको एसपी बोहराले बताए।

‘आठ जना मध्ये सात जनालाई जिम्मा जमानीमा छोडिएको र डा. राजीव झालाई हिरासतमा राखिएको छ। झाले मापसे सेवन गरी भीडमा अपशब्द बोल्ने कार्य समेत गरेका थिए,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖