• Wednesday 7th of October 2026

प्रचण्ड नेतृत्वको सरकार नढल्नेमा माधव नेपाल ढुक्क, सफल बनाएरै छाड्ने उद्घोष


  • धनकुटा खबर
  • .

काठमाडौं, २० असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार तत्काल नढल्ने दाबी गरेका छन् । उनले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्ने बेला नभएको बताएका छन् । पार्टीको मेची–महाकाली जागरण अभियानमा रहेका अध्यक्ष नेपालले विभिन्न जिल्लामा आयोजित कार्यक्रममा वर्तमान सरकार सहमतिअनुसार हिँडेकोले यसको विकल्प खोज्ने बेला नभएको टिप्पणी गर्ने गरेका छन् ।

हिजो (शुक्रबार) प्रधानमन्त्री प्रचण्डको गृहजिल्लासमेत रहेको चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले आफूहरु पनि सरकारमा भएकाले यही सरकारलाई सफल बनाएर अघि बढ्नुपर्ने बताएका थिए । उनको भनाई थियो–‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन । हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा पनि बनाएका छौं । वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरेका छौं । लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई अगाडि लिएर जान्छौं ।’

सत्ता गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले नै प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने धारणा राखिरहेको बेलामा माधव नेपालले भने एक स्टेप अघि बढेर सरकारको विकल्प खोज्ने बेला नभएको बताएका हुन् । उनले अहिले प्रतिक्रियावादी शक्तिहरु सलबलाएको पनि आरोप लगाएका छन् । उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई सफल बनाउनको लागि आफूहरु पनि सक्रियताका साथ लागिपरेको सुनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖