माडागास्कर । माडागास्करको सैन्य नेतृत्वले हिन्द महासागरको यस टापु राष्ट्रको बागडोर सम्हालेको एक सेनाका कर्णेलले मंगलबार जानकारी दिएका छन् । राष्ट्रपति एन्ड्री राजोएलिना युवा प्रदर्शनकारी र सुरक्षा बलसँगको गतिरोधका कारण देश छाडेर भागेपछि सेनाले सत्ता हातमा लिएको हो।
युवाहरूको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनमा सामेल भएका सिपाहीहरूको विद्रोहको नेतृत्व गरेका कर्णेल माइकल रान्ड्रिनाइरिनाले राष्ट्रिय रेडियोमार्फत ‘हामीले सत्ता लिएका छौँ’ भनी बताएका छन्।
रान्ड्रिनाइरिनाले राष्ट्रपति राजोएलिनालाई केही मिनेटअघि मात्रै महाभियोग लगाउने पक्षमा मतदान गरेको तल्लो सदन नेसनल एसेम्बलीबाहेक सबै सरकारी संस्थाहरू भङ्ग गरिएको जानकारी दिए।
पूर्वी अफ्रिकाको तटमा रहेको यस राष्ट्रमा अस्तव्यस्तता मच्चिएपछि ५१ वर्षीय नेता राजोएलिनाले एउटा आदेश जारी गरेर नेसनल एसेम्बलीलाई नै विघटन गर्ने प्रयास गरेका थिए।
फ्रान्सेली सैन्य जेटमा उडेर भागे पनि राजोएलिनाले पद त्याग गर्न अस्वीकार गरिरहेका छन्। उनीमाथि राजीनामा दिन माग गर्दै केही हप्तादेखि जेनजी युवाहरूले प्रदर्शन गरिरहेका थिए । यसैबिच सेनाका थुप्रै टुकडीहरूले विद्रोह गर्दै उनीहरूलाई साथ दिएका थिए।
यस विषयमा राष्ट्रपति कार्यालयले तत्काल कुनै प्रतिक्रिया नजनाए पनि यसअघि एसेम्बलीको बैठक असंवैधानिक भएको र त्यसैले कुनै पनि प्रस्ताव ‘अमान्य र शून्य’ हुने बताएको थियो।
राजोएलिनाले आफ्नो ज्यानको खतराका कारण आफू सुरक्षित स्थानमा सरेको बताएका छन्। तर, एक विपक्षी अधिकारी, एक सैन्य स्रोत र एक विदेशी कूटनीतिज्ञले रोयटर्स समाचार समितिलाई उनी आइतबार फ्रान्सेली सैन्य विमानबाट देश छाडेर भागेको जानकारी दिएका थिए।
