• Wednesday 7th of October 2026

मोटरसाइकल दुर्घटनामा धनकुटा महालक्ष्मीका दीपकको मृत्यु, एकजना गम्भीर घाइते


  • धनकुटा खबर
  • .

इटहरीः इटहरीमा मंगलबार(गए) राती मोटरसाइकल जुध्दा एकजनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाइते भएका छन् । थप २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनकुटा महालक्ष्मी नगरपालिका ८ का २६ वर्षीय दीपक मिरिङचिङ मगर रहेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

मगरको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राति इटहरी–३ शान्तिचौकस्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३१प ६९४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को२१प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा जुध्न पुगेका थिए ।

दुर्घटनामा को२१प ६४३१ नम्बरको मोटरसाइकलको पछाडि सवार मगरको मृत्यु भएको हो । मोटरसाइकल चालक इटहरी–३ बस्ने ३० वर्षीय सागर तामाङ गम्भीर घाइते भएका छन् । उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यस्तै, को ३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक मोरङको सुन्दरहरैंचा ९ बस्ने १८ वर्षीय साहिम थापा मगर र इटहरी ४ बस्ने २० वर्षीया स्नेहा सुब्बा सामान्य घाइते भएका छन् ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । -प्रदेश पोर्टल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖