आफूलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन आग्रह गर्दै काठमाडौं आएका प्रदेशसभा सदस्य भीम पराजुलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलको नेता नै मुख्यमन्त्री हुने जवाफ फर्काएका छन् ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीलाई सभापति देउवाले अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हुने स्पष्ट पार्दै अर्काे विकल्प आउँदा पार्टीभित्र सल्लाह गर्ने भनेर जवाफ फर्काएका हुन् ।
सभापतिज्यूसँग पार्टीभित्रका अन्य प्रदेशसभा सदस्यको पनि कुरा आइरहेको छ भन्ने सुनेर मैले तपाईँको धारणा चाहिँ के हो ? भनेर सोधेको थिए,’ पराजुलीले लोकान्तरसँग भने, ‘उहाँले कांग्रेसबाट बन्ने भयो भने जो संसदीय दलको नेता छ, त्यही हुन्छ । अरु हुँदैन भन्नुभयो ।’
अहिले कोशी प्रदेशसभामा उद्धव थापा कांग्रेसको संसदीय दलको नेता छन् । सर्वोच्च अदालतले २ पटक उनको पद खारेजी गरिदिएपछि पनि देउवाको रोजाइमा फेरि उनै परेको संकेत मिलेको छ ।
Vianet communication
Laxmi Bank
सरकार निर्माणका लागि राप्रपासँग निर्णायक वार्ता गरेर अगाडि बढ्नुपर्ने सुझाव आफूले सभापति देउवालाई दिएको पराजुलीले सुनाए । मध्यावधिमा गएको खण्डमा गणतन्त्र नचाहने, प्रणाली नचाहने, संविधान नमान्नेहरूका लागि खेल्ने ठाउँ हुने भएकाले पार्टीभित्रको विवाद समाधानका लागि पहल गर्न आफूले उनलाई आग्रह गरेको पराजुलीले जानकारी दिए ।
उनका अनुसार सभापति देउवाले एमालेसँग सहकार्य गर्ने कुरालाई भने नकारेको उनले सुनाए । ‘राप्रपा मानेन भने मध्यावधिमा नजानका लागि एमालेसँग पनि सल्लाह गरेर जान सकिन्छ भनेर मैले विकल्पमा जानुपर्छ भनेको छु,’ उनले भने, ‘तर, सभापतिले एमालेसँग मिलेर जाने कुरामा त्यति चासो दिनुभएन ।’
अब सरकार बनाउन अब कोशीमा अन्तिम विकल्पको रुपमा संविधानको धारा १६८ (५) छ । यसअन्तर्गत सरकार बनाउन अहिले नेताहरूको दौडधुप चलिरहेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समयसीमा शुक्रवार सकिँदै छ ।
बहुमत पुर्याउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते नवनियुक्त मुख्यमन्त्रीले हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए । बुधवार साँझसम्ममा सत्ता गठबन्धनले मुख्यमन्त्रीको टुंगो लगाउने नेताहरूले बताएका छन् । गठबन्धनका सबै नेता यतिबेला संघीय राजधानी काठमाडौंमा छन ।
कोशी प्रदेश सभा ९३ सदस्यीय छ । बहुमतका लागि ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एकजना सांसद छन् ।
