• Wednesday 7th of October 2026

इजरायलबाट विद्यार्थी आज ल्याइँदै, यस्तो छ उडान तालिका


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज २५ । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्।

नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार बिहान चार बजे त्यसतर्फ लागेका छन् । उनीहरूलाई लिएर जहाज बिहीबार नै बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने र त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन् । अलपत्र परेकामध्ये २५३ जना नेपालीको उद्धार गर्न बिहीबार बिहान चार बजे उडेको निगमको जहाज दुबई ट्रान्जिट भएर त्यसतर्फ लागेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान उडेको निगमको एयरबस ३३० जहाज स्थानीय समय अनुसार बिहीबार बिहान ९ः१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

निगमको उडान तालिका अनुसार अप्रेसन डाइरेक्टर (सिनियर क्याप्टेन) श्रवण रिजालको नेतृत्वमा उक्त जहाज जान लागेको हो। जहाज तेल अभिवबाट स्थानीय समय अनुसार बिहान ११ः१० उडेर पुनः दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । क्याप्टेन रिजाल र उनका सहोदर दाइ सिनियर क्याप्टेन सुवास रिजालले यसअघि २०७३ असारमा काबुलमा मारिएका १२ नेपालीको शवसहित २४ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖