काठमाडौँ । व्यस्त जीवनशैली, अनियमित खानपान र लामो समयसम्म बसिरहने बानीका कारण आजकल पेटको बोसो बढ्नु एक साझा समस्या बनेको छ।
बढेको पेटले शारीरिक सुन्दरता मात्र बिगार्दैन, स्वास्थ्यमा समेत विभिन्न चुनौती थप्छ। यदि यो विवाहको सिजनमा आफूलाई फिट र आकर्षक देखाउन चाहनुहुन्छ भने योग एक सुरक्षित र प्रभावकारी माध्यम हुन सक्छ। योगले पेटका मांसपेशीलाई बलियो बनाउनुका साथै मेटाबोलिजमलाई तीव्र पार्छ र पाचन प्रणालीमा सुधार ल्याउँछ।
घरमै बसेर सजिलै गर्न सकिने र पेटको बोसो घटाउन मद्दत गर्ने पाँच योगासनहरू यस प्रकार छन्:
१. भुजङ्गासन
यो आसन गर्नका लागि पेटको बलमा सुत्नुपर्छ। हातलाई काँधको नजिक भुइँमा राखेर सास फेर्दै छातीलाई माथितिर उठाउनुपर्छ। यसले पेट र कम्मरको बोसो घटाउनुका साथै मेरुदण्डलाई लचिलो बनाउँछ।
२. पवनमुक्तासन
उत्तानो सुतेर दुवै खुट्टालाई खुम्च्याउने र घुँडालाई छातीमा टाँसेर हातले समात्नुपर्छ। टाउको उठाएर घुँडा छुने प्रयास गर्दा पेटको ग्यास र बोसो कम हुन्छ भने पाचन प्रक्रियामा सुधार आउँछ।
३. नौकासन
भुइँमा बसेर दुवै खुट्टा र शरीरको माथिल्लो भागलाई माथि उठाएर ‘V’ आकार बनाउनुपर्छ। हातलाई खुट्टाको सिधा राखेर १०–१५ सेकेन्ड अडिनुपर्छ। यसले पेटको मांसपेशीलाई टोन गर्न र कोर बलियो बनाउन मद्दत गर्छ।
४. कपालभाति प्राणायाम
आरामसँग बसेर नाकबाट तीव्र गतिमा सास बाहिर छोड्ने र पेटलाई भित्रतिर तान्ने प्रक्रिया नै कपालभाति हो। यसले पेटको बोसो छिटो घटाउनुका साथै शरीरबाट विषाक्त तत्त्व बाहिर निकाल्न मद्दत गर्छ।
५. धनुरासन
पेटको बलमा सुतेर खुट्टा खुम्च्याउने र कुर्कुच्चालाई हातले समातेर छाती र खुट्टालाई माथि उठाउनुपर्छ। धनुष जस्तो मुद्रा बनाउँदा पेट, तिघ्रा र कम्मरको बोसो कम हुन्छ।
