काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले झापा–५ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ। पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गराउने उद्देश्यसहित तामाङलाई टिकट दिएको हो।
नेकपा संयोजक प्रचण्डले शनिबार बिहान औपचारिक रूपमा तामाङलाई झापा–५ को उम्मेदवारीको टिकट हस्तान्तरण गरेका हुन्। यससँगै झापा–५ को चुनावी प्रतिस्पर्धा थप चर्किने देखिएको छ।
अनेरास्ववियु क्रान्तिकारीका पूर्व अध्यक्ष रहेका रञ्जित तामाङले झापा–५ लाई आधार बनाएर लामो समयदेखि चुनावी तयारी गर्दै आएका थिए। संगठन निर्माण, स्थानीय भेटघाट र जनसम्पर्कमार्फत उनले निर्वाचन क्षेत्रमै सक्रिय भूमिका निभाउँदै आएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा चिनिने झापा–५ मा नेकपाले तामाङलाई अघि सारेसँगै चुनावी समीकरणमा नयाँ मोड आएको छ। आगामी निर्वाचनमा तामाङ र ओलीबीचको प्रतिस्पर्धाले राष्ट्रिय स्तरमै ध्यान खिच्ने अपेक्षा गरिएको छ।
