जनकपुरधाम । विभिन्न आन्दोलनमा ज्यान आहुति दिएका ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बालेन्द्र शाह ले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको बताएका छन्। जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भाषण दिनु–नदिनुको दोधार व्यक्त गर्दै भने— आफूलाई काम गर्न दिनु नै सबैभन्दा ठूलो समर्थन हुने।
काठमाडौं महानगरपालिकामा चार वर्षे कार्यकालको अनुभव सुनाउँदै उनले महानगरवासीले दिएको अवसरका कारण काम गरेर देखाउन सफल भएको दाबी गरे। सोही विश्वास मधेशले पनि दिए परिवर्तन सम्भव हुने उनको भनाइ थियो।
करिब डेढ महिनाअघि रामजानकी विवाह महोत्सवका क्रममा जनकपुर आएका शाहले मिथिलाको सम्भावनाप्रति राज्यको बेवास्ता चर्को शब्दमा उठाए। राम–जानकीको ऐतिहासिक विवाहस्थल हुँदाहुँदै पनि नेपालीहरू ‘डेस्टिनेसन वेडिङ’का लागि विदेश धाउनुपर्ने अवस्थालाई उनले नीतिगत असफलता भने। मिथिलाको सरसफाइ, व्यवस्थापन र आकर्षण बढाउन राज्य गम्भीर नभएको उनको आरोप थियो।
सभामा उनले दुई महत्वपूर्ण परिवर्तन औँल्याए— मधेशमा पहिलो पटक सबै जातजातिका मानिस एउटै उद्देश्यका साथ एक ठाउँमा उभिएको र जनकपुरको विकास सबै समुदायलाई समेट्ने ढाँचामा हुनुपर्ने। ‘जनकपुर बोर्ड’ जस्तै समावेशी विकास मोडेल नै मधेशको भविष्य हुनुपर्ने उनको धारणा थियो।
संघीयता र प्रदेशप्रतिको प्रश्नमा उनले प्रदेश सरकारलाई अझ सशक्त बनाउनुपर्ने बताए। प्रदेश राजधानी भएर पनि साना प्रशासनिक निर्णयका लागि काठमाडौं धाउनुपर्ने अवस्था संघीयताको मर्मविपरीत भएको उनको भनाइ थियो। काठमाडौं अधिकार माग्न होइन, दर्शन र भ्रमणका लागि मात्र पुग्ने अवस्था बनाउनुपर्ने उनले जोड दिए।
महानगर प्रमुखको हैसियतमा आफू आन्दोलनरत किसान, मिटरब्याज पीडितहरूप्रति मूकदर्शक बन्न नसक्ने उल्लेख गर्दै शाहले ३५ पालिकाका लागि एम्बुलेन्स व्यवस्थापन गरिएको उदाहरण दिए। संघ सरकारमा पुग्न सके अझ ठूलो स्तरमा काम गर्न सकिने उनको दाबी छ।
समाजवादको बहसमा उनले काठमाडौं महानगरको अभ्यास प्रस्तुत गरे— हरेक वर्ष २० हजार विद्यार्थीलाई छात्रवृत्ति, महँगा कलेजमा निःशुल्क अध्ययन र निजी अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या नै व्यवहारिक समाजवाद भएको उनको तर्क थियो। यही मोडेल सातै प्रदेश र ७५३ वटै पालिकामा विस्तार हुनुपर्ने उनले बताए।
मिथिला क्षेत्रका मन्दिर, पोखरी, पाटीपौवाको संरक्षणमा राज्य उदासीन भएको भन्दै उनले यसको जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टी ले लिने प्रतिबद्धता जनाए।
देशमा वार्षिक १० लाख पर्यटक मात्र आउने तथ्य प्रस्तुत गर्दै उनले भारतको अयोध्यामा १० करोड पर्यटक पुग्ने उदाहरण दिए। जानकी माताको भूमिले एक्लै करोडौं पर्यटक तान्ने क्षमता राख्ने भन्दै उनले मिथिलालाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्र बनाउन सकिने बताए।
अन्त्यमा उनले मधेशबाटै देशको नेतृत्व परिवर्तन हुने विश्वास व्यक्त गर्दै सही समयमा सही निर्णय गर्दै ‘घण्टी’मा मत दिन आग्रह गरे।
