काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’को भरमा चुनाव जित्ने भ्रममा नपर्न नयाँ राजनीतिक शक्तिलाई चेतावनी दिएका छन् । बिहीबार कान्तिपुर टिभीको युट्युब च्यानलमा प्रसारित अन्तर्वार्तामा उनले पार्टी संगठनबिनै डिजिटल हाइपका आधारमा चुनाव जित्ने सोचलाई ‘कुहिराका काग’सँग तुलना गर्दै तीव्र आलोचना गरे । ओलीले रवि लामिछाने र बालेन्द्र शाह जस्ता नयाँ उम्मेदवारलाई लक्षित गर्दै संगठन र जनाधारबिनाको राजनीति टिकाउ नहुने दाबी गरे ।
नयाँ दलहरूले डिजिटल प्लेटफर्ममा आक्रामक प्रचार गरिरहेका बेला एमाले पछि परेको हो कि भन्ने प्रश्नमा ओलीले केही हदसम्म स्वीकारोक्ति जनाए । तर उनले एमाले डिजिटल संसारबाट अनभिज्ञ नभएको स्पष्ट पार्दै अब ‘फेक बुस्ट’ नगरी आफ्नै जनशक्ति प्रयोग गरेर डिजिटल उपस्थितिलाई मजबुत बनाइने बताए । आईटी, डिजिटल इन्जिनियर र कन्टेन्ट क्रिएटरसहित पर्याप्त म्यानपावर आफूहरूसँग रहेको उल्लेख गर्दै उनले प्रविधि र डेटामा विश्वास गर्ने पार्टी एमाले नै भएको दाबी गरे ।
भदौ २३ का घटनामा गोली चलाउने आदेश दिएको आरोपबारे ओलीले व्यङ्ग्यात्मक प्रतिक्रिया दिए । एआई प्रयोग गरेर आफूले मेसिनगन बोकेर गोली चलाएको भिडियो देखाइदिए झन् सजिलो हुने टिप्पणी गर्दै उनले आरोपलाई हास्यास्पद ठहर गरे । साथै, देशभर फोरजी विस्तार र इन्टरनेट पहुँच बढाएको श्रेय पनि एमालेकै नेतृत्वलाई दिए ।
दमकमा निर्माण भएको भ्यु टावरको आलोचनाबारे जवाफ दिँदै ओलीले त्यसलाई केवल भ्यु टावरका रूपमा नभई आईटी हब र बिजनेस कम्प्लेक्सका रूपमा विकास गर्न सकिने बताए । टावरका केही तलामै आईटी हब सञ्चालन गरे युवालाई रोजगारी सिर्जना हुने र कारोबार बढ्ने तर्क गर्दै उनले आर्थिक गतिविधि विस्तारबिनै सामाजिक सहायता सम्भव नहुने धारणा राखे । ओलीले समग्रमा पुरानो पार्टी भए पनि एमाले प्रविधि, डाटा र आधुनिक अभियान रणनीतिमा विश्वास गर्ने पार्टी भएको दाबी दोहोर्याए ।
